मकवानपुर– बागमती प्रदेश सरकारले स्थापना गरेको (कोभिड–१९) कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिद्धार्थ बैंकले १० लाख रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरसका विरामी भइहालेमा उपचार गर्नका लागि स्थापना गरेको कोषमा शिद्धार्थ बैकले शनिबार दश लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो ।
बैंकका हेटौंडा शाखा प्रमुख अर्पण सन्जेलले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो । बिश्वव्यापी रुपमा फैलिएको भाईरस नियन्त्रणमा सरकारसङ्ग हातेमालो गर्न कोषमा रकम जम्मा गरिएको बैंकले जनाएको छ । सातै प्रदेशमा १०–१० लाखका दरले कोषमा रकम जम्मा गर्ने बैंकको निर्णयअनुसार बागमती प्रदेशमा रकम हस्तान्तरण गरिएको शाखा प्रमुख सन्जेलले जानकारी दिनुभयो ।
महामारीका रुपमा फैलिएको कोरोना भाईरस सङ्क्रमण नियन्त्रणका लागि सरकार आफ्नो तवरले लागिरहेको भन्दै बैंकले गरेको सहयोग प्रति मुख्यमन्त्री पौडेलले धन्यवाद व्यक्त गर्नुभयो । सरकारले मात्र चाहेर नहुने भन्दै उहाँले विभिन्न संघ सस्था, व्यक्तिलगायत सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभएको छ । बैङ्किङ क्षेत्र अत्यावश्यक सेवा क्षेत्र भएकाले आबश्यक्ता अनुसार सुरक्षा अपनाएर सेवा प्रवाह निरन्तर गर्न पनि मुख्यमन्त्री पौडेलले अनुरोध गर्नुभएको छ ।