file photo

काठमाडाँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट हुनुपर्ने बताउनुभएको छ । ७२ औँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने पार्टीको अभियानलाई सबैको साथ र सहयोगबाट अगाडि बढाउनुपर्ने बताउनु भएको हो ।
अध्यक्ष ओलीले आफू सरकारमा रहँदा प्रजातान्त्रिक आन्दोलनमार्फत देशको गरिमा र जनताको चाहनालाई सफलताको दिशामा अभिमुख गराउन आर्थिक र सामाजिक न्यायसहित परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्दै मुलुकलाई अघि बढाएको उल्लेख गर्नुभएको छ । “एमालेले सरकारको नेतृत्व गरिरहँदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्ने आफ्ना हरेक क्षण, सम्भावना र सामर्थ्य सदुपयोग गरेका थियौँ,” उहाँले सन्देशमा भन्नुभएको छ । जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित भएको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नो अमूल्य जीवनलाई बलिदान दिने अमर सहिदप्रति अध्यक्ष ओलीले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । रासस