मकवानपुर – मकवानपुरको भिमफेदी गाउँपालिका स्थित क्षेत्रीय कारागारमा रहेका १० कैदीबन्दीको सजाय मिनाहा भएको छ । ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ५०१ जना कैदीवन्दीको सजाय मिनहा र १२ जनालाई आममाफी दिनु भएकोमा भीमफेदी कारागारमा कैद भुक्तान गरिरहेका १० कैदीबन्दीको पनि सजाय मिनाहा भएको हो ।
आज रिहा भएका मध्ये सवारी ज्यान मुद्धाका ४जना, कर्तव्य ज्यान मुद्धाका ३ जना, चोरी,डाँका र ज्यान मार्ने उद्योग मुद्धाका एक÷एक जना रहेका छन् । सजाय मिनाहा भएका कैदीबन्दीहरुलाई शनिबार बिहान १० बजे रिहा गरिएको भीमफेदी कारागारका निमित्त प्रमुख (जेलर) केदार प्रसाद सापकोटाले जानकारी दिनुभयो । आज सजाय मिनाहा हुनेमा ८ जना नेपालका रहेका छन् भने २ जना छिमेकी देश भारतका रहेका छन् । कैद सजाय मिनाहा हुनेमा मकवानपुरका ५ जना, भारतका २ जना, सिन्धुली, सुनसरी र उदयपुरका एकएक जना रहेका छन् । भीमफेदी कारागारमा अब ९७७ जना कैदीबन्दीहरु रहेको सापकोटाले बताउनुभयो ।