मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लामा कोरोना नियन्त्रण र यसको प्रभाव कम गर्ने सन्दर्भमा सक्रियता देखाएको छ । जिल्लामा कोभिड–१९ को दोश्रो चरणको महामारी बढ्दै गएको अवस्थामा जिससले त्यसको नियन्त्रण र व्यवस्थापनका सन्दर्भमा आव सर्वपक्षिय बैठकको आयोजना गरेको हो ।

जिसस मकवानपुका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको सर्वदलिय, सर्वपक्षिय बैठकमा जिल्लामा कोरोनाको असर तथा यसको नियन्त्रणका सन्दर्भमा छलफल भएको छ । बैठकमा हालसम्म जिल्लामा संक्रमणको अवस्था, कोरोना नियन्त्रणमा भईरहेका प्रयास र आगामी रणनितीका विषयमा छलफल भएको हो । बैठकमा नेपाल सरकार मन्त्रिपरिषदवाट कोभिड १९ दोस्रो लहरवाट वच्न वचाउन जारी भएका निर्देशनलाई पूर्णरुपमा पालना गर्न गराउन सहभागि सबै पक्षले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । छलफलबाट जिल्लामा संक्रमण नियन्त्रण तथा पूर्व तयारीका सन्दर्भमा विभिन्न निर्णय समेत गरेको छ ।

बैठकले कोभिड–१९ दोश्रो चरणको महामारी नियन्त्रणका सन्दर्भमा नेपाल सरकारको निर्देशनलाई जिल्लामा पूर्ण रुपमा पालना गर्ने गराउने निर्णय भएको जिसस प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । यस्तै जिल्लामा गत वर्ष संचालित क्वारन्टाइन, आइशोलेसनहरु पुनःव्यवस्थापन गरी तत्कालै संचालनमा ल्याउन स्थानीय तहहरुलाई आग्रह गर्ने, एम्वुलेन्स र सव–वहानमा परेको समस्याको सम्बन्धमा कोभिड – १९ संकट व्यवस्थापन केन्द्र मकवानपुर मार्फत् समाधानको लागि पहल गर्ने, राजनैतिक दल, सामाजिक संघ/संस्थाहरु सबैले आम नागरिकको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न/ गराउन आ–आफ्नो स्थानबाट प्रचार प्रसार गरी जनचेतना फैलाउने लगायतका निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो । बैठकमा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, समन्वय अधिकारी आनन्दराज पोखरेल, मकवानपुरका प्रहरी प्रमुख सोमेन्द्र सिंह राठौर, हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिकालगायत विभिन्न गाउँपालिकाका प्रमुख एवम् उपप्रमुखहरु, जिल्ला स्थित राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि र विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।