मकवानपुर, साउन १२ । जिल्ला अदालत मकवानपुरमा दुई वर्ष नाघेको मुद्धा पूर्ण रूपमा फछ्र्यौट गरी शुन्यमा झरेको छ । अदालतले मंगलबार पत्रकार भेटघाट कार्यक्रम गरेर आर्थिक वर्ष २०८२÷०८३ को प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
अदालतकी श्रेस्तेदार रोशी भण्डारीका अनुसार अदातलमा हाल १८ महिना भित्रको १ हजार २९५ र १८ महिनादेखि २ वर्ष भित्रको मुद्धाको संख्या २७ वटा रहेको छ । उहाँका अनुसार गत आवमा कुल ३ हजार ६३६ मुद्दाको लगत रहेकोमा २ हजार ३१४ वटा (६३.६४ प्रतिशत) फछ्र्यौट भएका छन् ।
अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ हजार २४३ मुद्धा मध्ये ९९१ र नयाँ दर्ता भएका २ हजार ३९३ मुद्धा मध्ये १ हजार ३२३ मुद्धा फछ्र्यौट भएको तथा आगामी आर्थिक वर्षको लागि १ हजार ३२२ बाँकी रहेको उहाँले बताउनुभयो । समग्रमा भने, गत आर्थिक वर्षमा कुल मुद्धा मध्ये २ हजार ६४३ वटा मुद्धा फछ्र्यौट गर्ने लक्ष्य रहेकोमा २ हजार ३१४ मात्र अर्थात् ८७.५५ प्रतिशत मात्र मुद्धा फछ्र्यौट भएको श्रेस्तेदार भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीका अनुसार गत आर्थिक वर्षमा दर्ता भएका मुद्दामध्ये सम्बन्ध विच्छेदका सबैभन्दा धेरै ८७५ मुद्दा रहेका छन् । अंश दर्ता चलनका ३०४, लागुऔषधका २३९, लेनदेनका १९२, बैंकिङ कसुरका ११९, लिखत बदरका ११०, जालसाजीका ९९, चोरीका ७५, सवारी ज्यान तथा अङ्गभङ्गका ५३ तथा जबरजस्ती करणीका ४६ मुद्दा दर्ता भएका छन् । बालमैत्री न्याय प्रणालीअन्तर्गत सञ्चालन हुने बाल इजलासमा समेत अदालतले उल्लेखनीय प्रगति गरेको श्रेस्तेदार भण्डारीले बताउनुभयो । जिम्मेवारी सरेर आएका ३३ र नयाँ दर्ता भएका ८१ सहित ११४ मध्ये ९५ वटा अर्थात ९३.३३ प्रतिशत मुद्धा फछ्यौट भएको र १९ वटा मुद्धा बाँकी रहेको छ ।
यस्तै अदालतले अभिलेख व्यवस्थापनलाई पनि प्राथमिकता दिएको जनाएको छ । आर्थिक वर्ष २०८१÷८२ मा ३ हजार ५३५ मिसिल स्क्यानिङ गरिएकोमा चालु आर्थिक वर्षमा थप १ हजार ७१५ मिसिल स्क्यानिङ गरिएको छ । हालसम्म ५ हजार २५० मिसिल डिजिटल अभिलेखमा रूपान्तरण गरिएको छ । यद्यपि अझै २४ हजार ५ सय ८४ मिसिल स्क्यान गर्न बाँकी रहेको छ । अदालतमा अभिलेखका कुल मिसिल संख्या २९ हजार ८ सय ३४ रहेको जनाइएको छ । यसैगरी, गत भदौ २३ र २४ गतेका जेनजी आन्दोलनको क्रममा चालुतर्फ २ र अभिलेखतर्फ ८२२ मिसिल नष्ट भएकोमा चालुतर्फ २ र अभिलेखतर्फ ५५ मिसिल प्राप्त गरिएको छ भने अभिलेखतर्फ अझै ७६७ मिसिल प्राप्त हुन बाँकी रहेको श्रेस्तेदार भण्डारीले बताउनुभयो ।
फैसला कार्यान्वयनतर्फ निवेदनतर्फ १ हजार ४५६ लगतमध्ये ८९४ फछ्र्योट गरी ६१.४० प्रतिशत प्रगति हासिल गरिएको छ । कैदतर्फ ५ हजार ६५७ वर्ष ९ महिना १५ दिनको लगतमध्ये १ हजार ५७१ वर्ष ४ महिना १ दिन बराबरको कैद कार्यान्वयन गरिएको छ, जुन २७.७७ प्रतिशत हो । जरिवानातर्फ ४ अर्ब ८५ करोड ८६ लाख ५६ हजार ५९३ रुपैयाँ ६६ पैसामध्ये ४ अर्ब १३ करोड ३३ लाख ६६ हजार २३६ रुपैयाँ असुल भई ८५.७ प्रतिशत प्रगति भएको छ । पीडित राहत तथा क्षतिपूर्तितर्फ आर्थिक वर्ष २०८२÷८३ मा अन्तरिम राहतस्वरूप २५ हजार रुपैयाँ तथा अन्तिम क्षतिपूर्तिस्वरूप २२ लाख ४५ हजार ८१९ रुपैयाँ ८० पैसा उपलब्ध गराइएको स्रेस्तेदार भण्डारीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा अदालतकी मुख्य जिल्ला न्यायाधीश गीता श्रेष्ठले रणनीतिक योजना र निरन्तर सुनुवाइकै कारण पुराना मुद्दा शून्यमा ल्याउन सकिएको बताउनुभयो । उहाँले अदालतप्रतिको जन विश्वास बढाउन ढिलासुस्ती अन्त्य गर्नु अनिवार्य रहेको हुँदा रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयनले नै यो सफलता मिलेको उहाँले बताउनुभयो । कार्यक्रममा अदालतका सुचना अधिकारी केशव राज कौशिकले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि वार्षिक कार्ययोजना तर्जुमा, वार्षिक प्रतिवेदन तयारी, सूचना प्रविधिमैत्री न्याय सेवा विस्तार तथा सेवाग्राहीमैत्री न्याय सम्पादनलाई थप प्रभावकारी बनाइने बताउनुभयो ।