फाइल फाेटाे

हेटाैंडा, साउन १२ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको र न्यून चापीय रेखा पूर्वी भूभागमा सरदर तथा पश्चिममा सरदरभन्दा उत्तरतर्फ रहेकोले हाल देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । साथै, तराईका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ भने लुम्बिनी, सुदूरपश्चिम, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि हिमाली र पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको क्रम जारी रहनेछ भने तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। यसैगरी, राति पनि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको छ।