मकवानपुर– ११० औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजना तथा जिल्ला समन्वय समिति मकवानपुरको समन्वयमा कार्यक्रम भएको हो । पुञ्जकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पुडाशैनीले “म त आफ्नै अधिकारका लागि लड्दैछु” भन्ने शिर्षकमा कविता वाचन गर्नुभएको थियो । उहाँले देशमा जति परिवर्तनहरु आएपनि गरिव तथा पिछडिएका वर्गलाई खासै प्रभाव नपरेको विषयलाई संकेत गर्दै कविता बाचन गर्नुभयो । उहाँको कवितामा एउटा महिलाले आफ्नो सन्तानको लागि गरेको दुःखलाई दर्शाउँदै महिला अर्थात आमा कति महान हुन्छिन भन्ने कुरा व्यत्तः गर्न खोज्नुभएको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले समाजलाई सकारात्मक रुपमा परिवर्तन गर्न साहित्यको धेरै भुमिका हुने बताउनुभयो । देशमा थुप्रै परिर्वतन भए पाि हालसम्म महिलाहरुलाई समान व्यवहार हुन नसकेको भन्दै अब समानताका लागि सबैले आ—आफ्नो क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताउनुभयो ।
अन्तराष्ट्रिय महिला दिवशलाई लक्षित गरेर आयोजना गरीएको कार्यक्रममा साहित्यकारहरुले नारी आन्दोलन, नारी माथि हुने दमन, परिवर्तनहरु र हालको अवस्था लगायतका बारेमा कविताहरु वाचन गर्नुभएको थियो । कार्यक्रममा माधव भण्डारी, सानुबाबु खनाल, जोस्ना भण्डारी, मसान उपासक लगायत अन्य साहित्यकारहरु र आँचल सहित्य कला पुञ्जका साहित्यकारहरुले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिललगायत अन्य सहित्यकारहरुको पनि उपस्थिति थियो ।