मकवानपुर– ढुंगा, गिट्टी बालुवा जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले जिल्लाका विभिन्न स्थानीय तहहरुमा नदिजन्य पदार्थको ठेक्का बन्दोबस्ती हुँदा भएका प्रकृयाको विवरण माग गर्ने निर्णय गरेको छ । बुधबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला अनुगमन तथा समन्वय समितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले मकवानपुरमा ठेक्का बन्दोबस्ती गरेका स्थानीय तहहरुसंग सोको विवरण माग गर्ने निर्णय गरेको हो ।
मकवानपुरका १० स्थानीय तहमध्ये भीमफेदी, मनहरी, राक्सिराङ्, ईन्द्रसरोवर, गढी र बकैया गाउँपालिका तथा थाहा नगरपालिकाले हाल सम्म ढुंगा, गीट्टी, बालुवाको ठेक्का लगाएको बुझिएको भन्दै प्रमुख खुलालले सोको विवरण माग गर्ने निर्णय भएको बताउनुभयो । साथै ठेक्का बन्दोबस्ती गर्न नसकेका स्थानीय तहहरुको समेत विवरण माग गर्न पत्राचार गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले अनुगमन समितिले डिभिजन वन कार्यालयको नेतृत्वमा बनाएको उपसमितिले हाल सम्म गरेको कामको प्रगती विवरणका बारेमा जानकारी लिनुका साथै सोको समिक्षा समेत भएको प्रमुख खुलालले बताउनुभयो । जिल्ला अनुगमन समितिले जिल्लाका विभिन्न खोला तथा खहरेहरुमा अनुगमन गरेर सोको निरन्तरताका लागि मकवानपुरका दुईवटा डिभिजन वन कार्यालयका प्रमुखको नेतृत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिले गरेको काम प्रभावकारी भएको जसका कारण खोला दोहन समेत कम भएको अनुगमन समितिको निश्कर्ष रहेको छ । उपसमितिलाइ निरन्तरता दिने बैठकले निर्णय गरेकाे छ ।
त्यस्तै आजको बैठकमा जिल्लाको मनहरी गाउँपालिकालगायत अन्य पालिकाहरुबाट अनुगमन तथा राजस्व संकलनका विषयमा भएका प्रगतिका बारेमा समेत छलफल भएको प्रमुख खुलालले बताउनुभयो । त्यस्तै शिवम सिमेन्टको खानीका कारण समस्या भएको भन्दै स्थानीयले बुझएको ज्ञापनपत्रका बारेमा छलपल भएको र सोको छिट्टै स्थलगत अनुगमन गरेर निर्णय गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै चुरे क्षेत्रमा केहि स्थानमा नदि उकास बढेका कारण बस्तीमा असर पुग्ने देखिएकाले दैविक प्रकोप समितिबाट निर्णय गराएर सोको व्यवस्थापन गर्ने, जिल्लाको उत्तरी र पुर्वी क्षेत्रमा अनुगमनमा जाने समेत निर्णय भएको तथा सुपारेटार व्यारेकमा नदिबाट परेको प्रभावका विषयमा समेत छलफल भएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, प्रहरी उपरिक्षक सुशिल सिंह राठौर, शसस्त्र प्रहरी उपरिक्षक विकास घिमिरे, पुरानाे गाेरख गण सुपारेटार व्यारेकका गणापती अिनल कुमार बुढाथाेकी, डिभिजन वन कार्यालय मनहरीा प्रमुख दिर्घ नारायण कोईराला, डिभिजन वन कार्यालय हेटौंडाका निमित्त प्रमुख मोहम्द अतिहुल्ला, पर्सा राष्टिय निकुञ्जका साहायक वाडेन अशाेक रामलगायतको सहभागिता थियो ।