Photo-AI

मकवानपुर, असार २१ । नेपालमा कक्षा १ मा भर्ना हुने मध्ये करिब ५० प्रतिश विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्म नपुग्दै र बिचमै पढाई छाड्ने (ड्रपआउट) हुने गरेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको विद्यालय शिक्षासम्बन्धी तथ्यांक अनुसार कक्षा १ मा भर्ना हुने करिब ९ लाख बालबालिकामध्ये माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्म पुग्दा झण्डै साढे चार लाख विद्यार्थी विद्यालय प्रणालीबाट बाहिरिने गरेका हुन् ।
हेटौँडामा आयोजित नियमित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा केन्द्रका निर्देशक तथा सूचना अधिकारी निम प्रकाश सिंह राठौरले कक्षा १ मा भर्ना हुनेमध्ये करिब ५० प्रतिशत विद्यार्थी बिचमै डङप आउट हुने गरेको तथ्याङ्क सार्वजनीक गर्नुभयो । सरकारले निशुल्क र अनिर्वार्य शिक्षालाई जोड दिए पनि विद्यार्थीलाई न्युनतम माध्यमिक तहको शिक्षा पार लगाउन अझै पनि प्रमुख चुनौती रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार कक्षा १ मा कुल ८ लाख ७९ हजार ४६९ विद्यार्थी अध्ययनरत रहेकोमा कक्षा १० मा पुग्दा यो संख्या ४ लाख ५७ हजार ३०३ मा झर्ने गरेको जानकारी दिनुभयो । । अर्थात् सुरुवाती तहदेखि एसईईको तहसम्म पुग्दा करिब ४ लाख २२ हजार विद्यार्थी विद्यालयबाट बाहिरिने वा अध्ययनलाई निरन्तरता नदिने अवस्था देखिएको छ । कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीको कुल संख्या ७० लाख ४० हजार ८२५ रहेको छ ।
केन्द्रका अनुसार कक्षा १ मा नयाँ भर्ना भएका ७ लाख ६५ हजार ९२१ विद्यार्थीमध्ये ५ लाख ९३ हजार ६४१ अर्थात ७७.५१ प्रतिशत ले मात्र ईसीडी अनुभव प्राप्त गरेका छन् । एकचौथाइ बालबालिका पूर्वप्राथमिक शिक्षा नलिई सोझै विद्यालय प्रवेश गर्ने गरेको तथ्यांक रहेको राठौरले बताए ।
आधारभूत तहको सुरुआती कक्षामै समस्या बढी ड्रपआउट दर देखिएको छ । कक्षा १ मा ड्रपआउट दर ४.४ प्रतिशत रहेकोमा कक्षा २ मा ३.१ प्रतिशत रहेको छ । त्यस्तै कक्षा ३ मा २.७ प्रतिशत र कक्षा ८ मा २.१ प्रतिशत ड्रपआउन दर रहेको छ । समग्र कक्षा १–८ मा औसत ड्रपआउट दर २.३ प्रतिशत रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।
तथ्याङक अनुसार माध्यमिक तहमा भने केही सुधारिएको देखिन्छ । कक्षा ९ मा ड्रपआउट दर २.८ प्रतिशत रहे पनि कक्षा १० मा यो ०.७ प्रतिशत मा सीमित छ । कक्षा ९–१० को औसत ड्रपआउट दर १.८ प्रतिशत रहेको छ । शिक्षा क्षेत्रमा पहुँच विस्तार भए पनि प्रारम्भिक कक्षाबाट माध्यमिक तहसम्म विद्यार्थीलाई विद्यालयमै टिकाइराख्ने चुनौती अझै कायम रहेको निर्देशक राठौरले बताउनुभयो ।