हेटौँडा,२० असार । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रदेशसभा बैठकले प्रदेश आर्थिक विधेयक, २०८३ सहित बजेटसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रस्तुत गरेको प्रदेश आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई उपसभामुख अप्सरा चापागाईंले निर्णयार्थ पेश गर्नुभएको थियो ।
ध्वनि मतका आधारमा प्रस्ताव बहुमतले पारित भएको उहाँले घोषणा गर्नुभयो ।
बजेट पारित हुनुअघि विपक्षी सांसदहरू ईश्वर सापकोटा, सृजना सायजु र रत्नप्रसाद ढकालले विभिन्न मन्त्रालयको बजेटमा खर्च कटौतीको प्रस्ताव दर्ता गराउनुभएको थियो ती प्रस्तावहरू निर्णयार्थ पेश गरिए पनि बहुमतले अस्वीकृत गरेपछि सरकारले प्रस्तुत गरेको बजेट यथावत् पारित भएको हो ।
प्रदेश सरकारको बजेटमाथि असार १६ गतेदेखि प्रदेशसभामा निरन्तर छलफल हुँदै आएको थियो। छलफलका क्रममा सांसदहरूले बजेटका प्राथमिकता, योजना छनोट, स्रोत व्यवस्थापन, कार्यान्वयन क्षमता तथा क्षेत्रगत सन्तुलनलगायत विषयमा धारणा राखेका थिए । उठाइएका प्रश्न र जिज्ञासाको शुक्रबार तथा शनिबार बसेका बैठकमा सम्बन्धित विभागीय मन्त्रीहरूले जवाफ दिएका थिए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको छ । बजेटमा पूर्वाधार विकास, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी सिर्जना, सामाजिक सुरक्षा तथा प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकता दिइएको सरकारले जनाएको छ । बजेट पारित गर्ने क्रममा सत्तारूढ नेपाली कांग्रेसभित्र असन्तुष्टि देखिएपछि पार्टीले आफ्ना प्रदेशसभा सदस्यलाई ’ह्वीप’ जारी गरेको थियो। त्यसपछि सबै सांसद बजेट पारित गर्ने पक्षमा उभिएका थिए ।











