हेटाैंडा, असार २० । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक पारित गराउन नेपाली कांग्रेसले आफ्ना प्रदेश सभा सदस्यहरूलाई ‘तीन लाइन ह्विप’ जारी गरेको छ । पार्टीभित्र मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षबीच बजेट र नेतृत्वलाई लिएर विवाद चर्किएपछि कांग्रेस संसदीय दलले आफ्ना सबै प्रदेश सभा सदस्यलाई अनिवार्य रूपमा बैठकमा उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक पुकार महर्जनले शनिबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकलाई लक्षित गर्दै तीन लाइन ह्विप जारी गरेका हुन् । ह्विपमा आर्थिक मामिला तथा योजना मन्त्रीले पेश गरेको आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक निर्णयार्थ पेश हुने भएकाले सबै प्रदेश सभा सदस्यलाई अनिवार्य रूपमा उपस्थित हुन, मतदानका क्रममा तटस्थ नबस्न र विधेयकको पक्षमा मत जाहेर गर्न निर्देशन दिइएको छ ।
ह्विपअनुसार शनिबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले पेश गरेको आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक निर्णयार्थ पेश हुने भएकाले सबै प्रदेश सभा सदस्यलाई अनिवार्य रूपमा उपस्थित हुन, मतदानका क्रममा तटस्थ नबस्न र विधेयकको पक्षमा मत जाहेर गर्न निर्देशन दिइएको छ । कांग्रेस संसदीय दलले बजेट पारित हुने निर्णायक चरणमा प्रदेश सभा सदस्यहरूको अनुपस्थितिले सरकारलाई अप्ठ्यारो पर्न सक्ने अवस्था देखिएपछि ह्विप जारी गरेको हो ।
पछिल्ला केही दिनदेखि कांग्रेसभित्र मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा समूहबीच बजेट तथा सरकारको नेतृत्वलाई लिएर विवाद चर्किएको छ । लामा पक्षधर केही प्रदेश सभा सदस्य प्रदेश सभा बैठकमै अनुपस्थित रहँदै आएका थिए भने बजेट पारित प्रक्रियामा असहयोग गर्ने संकेतसमेत दिएका थिए । कांग्रेसले तीन लाइन ह्विप जारी गरेसँगै पार्टीभित्रको विवाद तत्कालका लागि व्यवस्थापन गर्दै बजेट पारित गराउने प्रयास गरेको देखिएको छ । बागमती प्रदेशसभामा शनिबार बस्ने बैठकमा मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नको जवाफ टुंग्याएपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ ।











