मकवानपुर, असार २१ । पछिल्लो समय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय प्रति आम नागरिकको आकर्षण बढ्दै गएको पाईएको छ । प्रभावकारी र सस्तो उपचार, निःशुल्क औषधि वितरण तथा आधुनिक चिकित्सा पद्धतिको तुलनामा साइड इफेक्ट नहुने विश्वासले गर्दा विभिन्न आयुर्वेदिक उपचार र प्रवद्र्धनात्मक कार्यक्रमहरूमा नागरिकहरूको आकर्षण बढ्दै गएको हो ।
बागमती प्रदेशको राजधानी हेटौंडास्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरमा पनि स्वास्थ्य सेवा लिने सेवाग्राहीको संख्या उल्लेख्य बृद्धि भएको छ । चिकित्सालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मात्र ५४ हजार ४२७ जनाले सेवा लिएका छन् । प्रवर्धनात्मक, प्रतिकारात्मक, निदानात्मक, उपचारात्मक र समन्वयात्मक सेवाहरू प्रदान गर्दै आएको चिकित्सालयबाट यो अवधिमा ओपिडी सेवाबाट सबैभन्दा बढी १७ हजार ८४५ जनाले स्वास्थ्य सेवा लिएका छन् । चिकित्सालयकी प्रमुख डा. सृष्टि श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा १७ हजार ८१२ जनाले सेवा लिएकोमा चालु आर्थिक वर्षको जेठसम्ममा नै १७ हजार ८४५ जनाले सेवा लिएका हुन् ।
यसैगरी, यो वर्ष ल्याब सेवाबाट ७ हजार ८५६ जना र फिजियोथेरापीबाट ५ हजार १२१ जनाले सेवा लिएको देखिएको छ । यस्तै पूर्वकर्म ९ हजार ३२०, ल्याब सेवा ७ हजार ८५६ जना, फिजियोथेरापी ५ हजार १२१ जना, अकुपन्चर ४ हजार ५०४ जना, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा प्रवद्र्धन ३ हजार ४२७ जना र स्वर्णाबिन्दुप्राशन सेवा ४ हजार २५७ जनाले लिएको उहाँँले बताउनुभयो ।
श्रेष्ठका अनुसार चिकित्सालयबाट पंचकर्म (पुर्वकर्म) तर्फ आर्थिक वर्ष २०८०÷८१ मा ४ हजार ९६६ जनाले सेवा लिएकोमा त्यो बढेर क्रमशः आर्थिक २०८१÷०८२ मा ७ हजार ४५६ र चालु आर्थिक वर्षको जेठसम्म ९ हजार ४६४ पुगेको छ । अकुपञ्चर सेवा लिनेको संख्या आर्थिक वर्ष २०८०÷८१ मा २ हजार ५६३ बाट बढेर क्रमशः २०८२÷८३ मा ३ हजार ४२५ र यो वर्ष जेठसम्म ४ हजार ५०४ पुगेको उहँँले बताउनुभयो । यस्तै फिजियोथेरापी सेवा लिनेको संख्या पनि २ हजार ६ सय बाट बढेर क्रमशः ३ हजार २ सय र ५ हजार १२१ पुगेको उहाँले बताउनुभयो । यस्तै पञ्चकर्म अन्तर्गत बाह्य स्नेहन र स्थानिय बस्ती जस्ता सेवाहरूमा पनि निरन्तर बृद्धि हुँदै गएको उहाँले बताउनुभयो ।
त्यस्तै प्रयोगशाला सेवातर्फ पनि परीक्षणको दायरा फराकिलो बन्दै गएको डा. श्रेष्ठले बताउनुभयो । आर्थिक वर्ष २०८०÷८१ मा २ हजार ५३४ जनाले प्रयोगशाला परीक्षणको सोवा लिएकोमा २०८१÷०८२ मा ५ हजार ५१३ र २०८२÷८३ मा ७ हजार ८२९ पुगेको उहाँले बताउनुभयो । यस बाहेक जेष्ठ नागरिकहरूका लागि रसायन औषधि वितरणमा उल्लेख्य वृद्धि भई २०८२÷८३ मा १ हजार ८७३ पुगेको छ । भने, स्वर्ण बिन्दु प्राशन कार्यक्रम अन्तरगत आर्थिक वर्ष २०८२÷८३ मा ४ हजार २५७ बालबालिकाहरू लाभान्वित भएका छन् । यस्तै पथ्य आहार लिने सेवाग्राहीको संख्या पनि आर्थिक वर्ष २०८०÷८१ को ५६१ बाट बढेर २०८२÷८३ मा १ हजार ४५० पुगेको उहाँले बताउनुभयो ।
वि.सं. २०३४ सालमा नारायणी अञ्चल आयुर्वेद औषधालयको नाममा स्थापना भएको चिकित्सालय हाल बागमती प्रदेश सरकार मातहत सञ्चालित छ । चिकित्सालयले आफ्नो सेवाको पहुँच बढाउन मकवानपुर जिल्लाभरि नै सेवा विस्तार गरेको छ । हाल यस अन्तर्गत १ वटा मुख्य चिकित्सालय, ३ वटा आयुर्वेद औषधालय र ८ वटा नागरिक आरोग्य सेवा केन्द्रहरू सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।
चिकित्सालयले परम्परागत उपचार पद्धतिमा वैज्ञानिकता र आधुनिक प्रविधिको सम्मिश्रण गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको उहाँको भनाई छ । सेवालाई प्रभावकारी बनाउँदै परम्परागत उपचार पद्धतिमा आम नागरिकको पहुँच बढाउन सफल भए पनि स्तनपायी आमाहरूलाई दिइने दुग्धवर्धक औषधि वितरण जस्ता केही सेवाहरूमा भने पछिल्ला वर्षहरूमा सेवाग्राहीको संख्यामा केही कमी आएको उहाँले बताउनुभयो । चिकित्सालयले ३५ प्रकारका निःशुल्क र ६० भन्दा बढी प्रकारका सशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । यसै वर्षदेखि अन्तरंग (आईपिडी) सेवा सुरु गर्ने तयारी भइरहेको बताउँदै स्रोत र जनशक्तिको अभाव मुख्य चुनौती रहेको उहाँले बताउनुभयो ।