file photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गमस्थल लुम्बीनी रहेको तथ्यमा विश्वको ध्यान जान जरुरी रहेको बताउनु भएकाे छ । बुद्ध जयन्तीको अवसरमा आज शुभकामना दिँदै अध्यक्ष ओलीले सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुऱ्याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय वैशाख दिवसका रूपमा मनाउने घोषणा गरेको स्मरण गर्नु भएकाे छ ।
अशोक स्तम्भका शिलालेख, चिनियाँ तीर्थयात्रीहरूका यात्रा वृत्तान्त र विभिन्न पुरातात्त्विक उत्खनन समेतबाट नेपालको रुपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र ३ वटा सम्यक् सम्बुद्धहरूको जन्म भएको तथ्य प्रमाणित भएको ओलीको भनाई छ । नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्त्व रहेको भन्दै उहाँले लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रूप दिन एमाले सरकारले सार्थक प्रयास गरेको बताउनु भएकाे छ ।