फाइल तस्विर

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा मुलुकले फड्को मारिसकेको बताए । प्रेस सङ्गठनद्वारा आज काठमान्डाैंमा आयोजित सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले असाधारण ढङ्गले सरकारले नयाँ काम अघि सारेकाले विकासका काम तीव्ररुपमा अघि बढेकाले विरोधी अत्तालिएको बताए ।

प्रधानमन्त्री ओलीले एउटा तप्का विकास निर्माणका काम हुन नदिइ विवाद निम्त्याउन उद्दत रहेको छ भने । “छ वर्षभित्रमा काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग हुने विषयले केही मान्छेको मन पोल्न थालेको छ”, उनले भने, “मैले खोलाबाट आवागमन गर्न सक्छौँ भनेँ उडाए, समुद्रमा जहाज चलाउन सक्छौँ भनेँ उडाए, कति दयनीय अवस्थामा छन् विरोधी भने पानीमा जहाज चल्छ भन्ने पनि थाहा पाएका छैनन्, नदीमा स्टिमर र जहाज चल्छ भन्ने त थाहा पाउनुपर्छ नी ।”

एकथरी कागजको डुङ्गा बनाएर चलाइरहँदा अर्कोथरीले जहाज चलाएर देखाएको भन्दै उनले निजी क्षेत्रका युवाले आफैँ प्रेरित भएर नारायणीमा जहाजको परीक्षण गरिसकेकामा खुशी व्यक्त गरे । प्रधानमन्त्रीले ओलीले भने, “अब हामीकहाँ गङ्गाबाटै सामान आइपुग्छ, देख्न सक्नेले देख्छ, देख्न नसक्नेका लागि मजाक हुन्छ, आएपछि उनीहरु आश्चर्य चकित हुन्छन् ।”

मुलुकको प्रगति रफ्तारमा गइरहेको जिकिर गर्दै उहाँले छिट्टै फलाम खानीको काम अगाडि बढाउँदै तेलखानीको अध्ययन गर्न लागेको जानकारी दिए । मुलुक सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगिसकेको र कृषिको आधुनिकीकरणमा सरकारले ध्यान दिएको उनले बताए । प्रधानमन्त्री ओलीले ठूला महत्वपूर्ण काम भइसक्दा पनि मुलुकमा विरोध गर्ने एउटा लहर नै चलेको भन्दै त्यसलाई रोकेर स्थायीत्वका पक्षमा दृढताका साथ लाग्नुपर्नेमा जोड दिए ।

उपलब्धि जनतामाझ लानसमेत उहाँले सञ्चारकर्मीसँग आग्रह गरे । प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरता, सुशासन, शान्ति सुव्यवस्था, आर्थिक उन्नतिका हिसाबले सरकारले असाधारण प्रयास गरेको बताउँदै सरकारको कामलाई ओझेलमा पारेर विभिन्न ढङ्गले भ्रम पैदा गर्ने प्रयास भइरहेकाले सचेत हुन सबैमा आग्रह गरे ।

गोकर्ण रिसोर्टको भाडा थपिएको विषयमा कहिल्यै म्याद नथपिएको, अहिलेको सरकारले मात्रै म्याद थपिएको जसरी प्रचार गरिएको छ, त्यसमा आपत्ति जनाउँदै उनले स्वतन्त्र सङ्घसंस्थाबाट मूल्याङ्कन र विधि तय गरेर आकर्षक ढङ्गले सरकारलाई कर तिर्छ र प्रतिष्पर्धामा जान्छ भने त्यो भाडामा लिन नपाउने भन्ने नहुने बताए । प्रधानमन्त्री ओलीले जमानामा किनेर लिएको जग्गा अहिलेको सरकारले गरेको भनेर भ्रम पैदा गर्ने काम नगर्न आग्रह गरे ।

विगतमा चुनाव हारेर काम चलाउ भएको सरकारले ठूलाठूला कारोवार गरेको जिकिर गर्दै उहाँले तिनै तत्वले अनैतिक ढङ्गले जालझेल गरिरहेको बताए । प्रधानमन्त्री ओलीले आर्थिक कारोवार गर्न नसकिने अवस्थाको सरकारबाट त्यस्ता काम भए पनि अहिलेको सरकारलाई सबै कुरा थाहा नहुने उल्लेख गर्दै त्यो बेला दिएको कालिमाटीको जग्गा पनि अहिलेको सरकारले दियो भनेर प्रचार भइरहेकामा असन्तुष्टि व्यक्त गरे । उनले भने, “अहिलेको सरकारले यस्ता गतिविधि गर्दैन, कसले ग¥यो त्यो छानविन गरौँ, कसरी दिइयो छानविन गरौँ, दरबार अगाडि घर बनाएको कसको समयमा हो, त्यो पनि छानविन गरौँ ।”

कोही भोको पर्दैन कोही भोकै मर्दैन
प्रधानमन्त्री ओलीले अब कोही भोकै नपर्ने र कोही भोकै नमर्ने दोहो¥याउनुभएको छ । जनताको सरकार भएकाले सडक मानव र बेसहारालाई जाडोमा कठ्याङ«ग्रिएर मर्न नदिने उनले दृढता व्यक्त गरे । “अहिलेको सरकारले त्यो हुन दिँदैन, यो जनताको सरकारको हो, निमुखा जनताका पक्षमा सरकार छ, कोही भोको पर्दैन, कोही भोकै मर्दैन”, प्रधानमन्त्रीले भने ।

उनले ज्येष्ठ नागरिकका लागि एक लाखको स्वास्थ्य बीमा, हरेक नागरिकका लागि बैंक खाता अभियान चलाएकोसमेत जानकारी दिए । जाडोमा कोही पनि मर्न नपरोस् भनेर आवश्यक व्यवस्था गरिएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले यसका लागि गत वर्षदेखि नै तयारी गरी स्थानीय प्रशासनलाई आवश्यक प्रबन्ध गरिएकाले गत वर्ष कोही पनि मर्न नपरेको दृष्टान्त प्रस्तुत गरे । उनले युवालाई स्वदेशमा नै रोजगारी दिइन सकिने धारणा राखे ।

“खेतीबारी बाँझो छन् । यहाँ केही गरे कमाउन सक्दछौँ । हाम्रो युवालाई बाटो नदेखाएर खेतबारी छोडेर भेडा चढाउन विदेश गएका छन्”, उनले भने, “यहाँ उनीहरुलाई सही बाटो दियाँै भने यही आम्दानी हुन्छ । प्राकृतिक स्रोत र मानवीय स्रोतलाई चलाउनु सक्नुपर्दछ ।” उनले सरकारले देश बनाउनका लागि असाधारण गति लिएको उल्लेख गर्दै दुनियामा कम्युनिष्ट आन्दोलन सकिएका बेला नेपालमा मजबुद भएको बताए ।

केही मान्छे व्यक्तिगत कुण्ठाका कारण सरकारको आलोचना र विरोधबाहेक केही गर्न नसकेको उनको भनाइ थियो । हामी फराकिलो मनका साथ राष्ट्र निर्माण र समृद्धिको अभियानमा जुटेका भन्दै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपाली’ अभियानलाई चीन, युरोप र भारतका नेताले पनि साथ दिएको बताए ।

“समृद्ध नेपालको लक्ष्य र उद्देश्य प्राप्त गर्ने विधि र बाटो के हुन सक्दछन् भनेर अध्ययन गरिरहेका छौँ”, उनले भने, “समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई साथ दिनका लागि सञ्चारकर्मीको सहयोग राष्ट्रले अपेक्षा गरेको छ ।” मुलुकमा फाटो ल्याउने, अराजकता फैलाउने, अनुशासनविरुद्ध, भ्रम फैलाउने जस्ता कुरामा विचार र कलमले लड्न सञ्चारकर्मीलाई आग्रहसमेत गरे।

प्रधानमन्त्री ओलीले नीतिमा ठीक ढङ्गले देशलाई हाँकेका समेत बताए । उनले प्रतिक्रान्तिलाई पराजित गरेकाले विरोधै गर्नुपर्ने नभएको समेत स्पष्ट पारे । “प्रतिक्रियावादीलाई पराजित गरिएको छ । राजतन्त्रलाई फालिएको छ । संविधान बनाउन दिन्नभन्दा बनाइएको छ । नाकाबन्दी गर्दा हटाइएको छ । देशका विभिन्न नाका खोलिएका छन् । बाटो बनेका छन् । पेट्रोलियम पाइप विछ्याएका छौँ । रेल ल्याउँदैछौँ”, उहाँले भन्नुभयो, “यस्ता थुप्रा काम गरेका छौँ । सुधारका ठूला काम गर्दछौँ । विरोध गर्ने कारण के छ र रु”

डुङ्गा डुब्न दिदैनौँ

उनले एकतापछि बनेको पार्टी एउटा डुङ्गा भएकाले डुब्न नदिने बताउनुभयो । उनले पार्टी एक भएपछि सबै एउटा डुङ्गामा चढेकाले त्यसलाई कुनै हातलमा पनि डुब्न नदिएर एउटा गन्तव्यमा पु¥याउने बताए ।

“डुङ्गामा प्वाल पार्दै जाने हो भने एउटा मात्र डुब्दैनन् । सबै डुब्छन् । जसले प्वाल पार्न खोजे पनि यो डुङ्गा प्वाल पार्न दिइने छैन । जसले यो डुङ्गा डुबाउन खोजे पनि डुबाउन दिइने छैन”, उनले भने, “यो डुङ्गालाई उल्टाउन खोजे पनि उल्टाउन दिइँदैन । डुङ्गा बीचमा डुबाउन खोजे पनि दिइने छैन । यो डुङ्गा हामीसँग ७० वर्ष अनुभव बोकेर खियाइएर चलाइएको डुङ्गा हो । धेरै बलिदानले सङ्घर्ष, कथा व्यथाले बनाइएकाले डुब्न दिइँदैन ।” उनले आजको सफलता शिखर नभई सफलताको शुरुआत मात्र भएको भन्दै जनताको जनवाद कार्यान्वयन गर्दै समाजवादको आधार तय गर्ने बताए ।

प्रधानमन्त्री ओलीले पार्टीको नीतिअनुसार समाचार सम्प्रेषण गर्नसमेत आग्रह गरे । “देशप्रति जिम्मेवार भएर सकारात्मक सोचका साथ एकताबद्ध भएर पार्टीका नीतिअनुसार सञ्चार क्षेत्रमा प्रतिक्रियावादीका दुष्चक्रलाई पार गर्नुहोस् भ्रमलाई चिर्नुस्”, उनले भने, “स्वच्छ, निष्पक्ष र सत्यका पक्षमा स्थिरता र स्थायित्वका पक्षमा काम गर्नुहोस् ।” रासस