हेटाैंडा – नेकपा (एमाले) का सांसद महेशकुमार बर्ताैलाले मकवानपुरको विभिन्न बस्तीमा पसेर आतङ्क फैलाउने एमगज नामकाे हात्तीलाई नियन्त्रणमा लिन माग गर्नु भएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बर्ताैलाले करिब एक हप्तादेखि एमगज हात्तीले मकनपुरको मनहरी, हेटौंडा र बकैयालगातय क्षेत्रमा स्थानीयलाई दुख दिएको भन्दै नियन्त्रणका लागि सरकारसमक्ष आग्रह गर्नुभएकाे हाे ।
सांसद बर्ताैलाले एमगजको आक्रमणबाट ज्यान गुमाएकी मनोहरी गाउँपालिका- ४ की ६४ वर्षीया राधा अधिकारीको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न उहाँले आग्रह गर्नुभएकाे छ । सांसद बर्तौलाले भन्नुभयो, ‘मकवानपुरमा एमगज नामको हात्तीले आतङ्क मच्चाइरहेको छ । ३ दिन अगाडि मनोहरी गाउँपालिका-४ की ६४ वर्षीया राधा अधिकारीकाे हात्तीकाे आक्रमणमा परि ज्यान गयाे । त्यहाँ ७ दिनदेखि एमगज नामको हात्तीले नागरिककाे घर भत्काउने, बाली नोक्सान गर्ने, आतङ्कित बनाइरहेकाे छ । विद्यार्थीहरु विद्यालय जाने स्थिति समेत बनेको छैन।’
उहाँले एक हप्तायता मकवानपुरको विभिन्न बस्तीमा हात्तीले आतङ्क सिर्जना गर्दा पनि वन मन्त्रालय र त्यस मातहतका निकायले नियन्त्रणका लागि कुनै पनि पहल नगरेको भन्दै आपत्ति जनाउनुभयो । ‘सरकारको तर्फबाट वन विभागका कर्मचारीहरु, वन मन्त्रालयका कर्मचारीहरु, राष्ट्रिय निकञ्जका कर्मचारीहरुले हात्तीलाई नियन्त्रण गर्नका लागि जुन प्रकारले भूमिका खेल्नु पर्दथ्यो, बस्तीमा पस्न नदिनका लागि जुन किसिमको भूमिका निर्वाह गर्नु पर्थ्यो, त्यो छैन । हात्तीलाई नियन्त्रणमा लिइ मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्न चाहन्छु ‘ उहाँले भन्नुभयाे ।