मकवानपुर – नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले उहाँले नेकपा एमाले वर्तमान सत्तारुढ पाँच दलिय गठबन्धनसँग एक्लै चुनाव लड्न तयार रहेको बताउनुभएको छ । प्रेस चौतारी मकवानपुरको आयोजनामा विहीबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता बस्नेतले यस्तो बताउनुभएको हो ।
संविधान अनुसार स्थानीय तहको मिति तत्काल घोषणा गर्न माग गर्नुहुँदै उहाँले भन्नुभयो ‘हामी एक्लै चुनाव लड्न तयार छौं । पाँच दल एउटै दलमा परिणत भए हुन्छ । देशले स्थिरता पनि पाउँछ ।’ उहाँले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार महत्वपूर्ण निर्णय गर्न नसक्ने अवस्थामा पुगेको आरोप समेत लगाउनुभएको छ । पाँच दलिय गठबन्धनको रुपमा रहेको वर्तमान सरकारको काम कसरी नेकपा एमालेलाई कमजोर बनाउन सकिन्छ भन्ने षड्यन्त्रमै केन्द्रीत भइरहेको उहाँले आरोप लगाउनुभयो । ‘सरकारका मन्त्रीहरुलाई आफ्नो मन्त्रालयमा के भइरहेको कुनै चासो छैन । यही जिल्लाबाट स्वास्थ्य मन्त्री बनेका विरोध खतिवडालाई आफ्नो कामको विषयमा केही ज्ञान नै छैन । केपी ओलीको बारेमा भजन गाएर मात्र दिन वितिरहेको छ ।’, उहाँले भन्नुभयो ।

पत्रकार सम्मेलनमा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले वर्तमान सरकारविरुद्ध चरणवद्धरुपमा आन्दोलन गर्ने बताउनुभएको छ । सरकार गलत बाटोमा अगाडि बढेका कारण सरकारविरुद्ध संघर्षमा उत्रिन बाध्य भएको उहाँले बताउनुभयो । ‘अहिले सरकार गलत बाटोमा अगाडि बढिरहेको छ । स्थानीय तहको निर्वाचन समयमा नगर्ने र गठबन्धनको नाममा ब्रम्हलुट मच्चाउने तयारी भइरहेको छ । त्यसकारण हामी सरकार विरुद्धको आन्दोलनमा छौं ।’, उहाँले भन्नुभयो ।
उहाँले केही दिनभित्रमा युवा संघले सरकार विरुद्धको आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने समेत बताउनुभएको छ । उहाँले संघीय सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादबलाई पदबाट मुक्त नगरेसम्म मधेश प्रदेशमा जारी युवा संघको आन्दोलन नरोकिने समेत बताउनुभयो । उहाँले वर्तमान सरकारलाई संविधान अनुसार स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्ने वातावरण तयार पार्न समेत आग्रह गर्नुभयो । प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।