मकवानपुरको कैलाश गाउँपालिकाले यो वर्षा मौसममा विभिन्न प्रजातिका ७० हजार बिरुवा वितरण गरेको छ । फलफुल, मसला, डालेघाँसका बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ को स्वीकृत कार्यक्रम अनुसार अलैंचीका ४० हजार विरुवा, जुनारका ९६ हजार बिरुवा वितरण गरिएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिनुभयो ।

यस्तै सुन्तलाका ६ हजार, कागतीका ३ हजार, लिचीका १ हजार ८ सय, अम्रपाली आँपका ८ सय, माल्द आँपका २ सय, बम्बई आँपका ३ सय बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले अशोकका १ सय १, टिकका १ सय, चिउरीका ३ हजार, ओखरका २ हजार ५ सय, केराका २ हजार ४ सय, किबीका ५ सय, अनारका १ सय २० बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले वितरण गरेका बिरुवा मध्ये अलैंची, किबी, ओखर, कागती जस्ता प्रजाति राम्रो आम्दानी हुने नगदेबालीको रुपमा रहेको छ । गाउँपालिकाको भुगोल र हावापानीअनुसार बिरुवा रोपिएको गाउँपालिका अध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।
कैलाश गाउँपालिकाको भूगोलअनुसारका वृक्षरोपणबाट भूक्षय नियन्त्रण हुनुका साथै आयआर्जनको अवसर समेत हुने अयष मोक्तानले दावी गर्नुभयो । कृषिप्राविधिकको अध्ययनपश्चात बिरुवा छनौट गरी सरकारी तथा निजी नर्सरीहरुबाट बिरुवा संकलन गरिएको बताइएको छ । जिल्लाभित्र र बाहिरबाट बिरुवाहरु संकलन गरिएको जानकारी दिनुहुँदै अध्यक्ष मोक्तानले ओखरको बिरुवा हुम्लाबाट ल्याइएको र अलैंचीको बिरुवा इलामदेखि ल्याएको बताउनुभयो । सरकारले लिएको बृक्षारोपण अभियानलाई सहयोग गर्ने तथा गाउँपालिकाको जनताको आर्थिक उन्नती गर्ने उदेश्यका साथ बिरुवा बितरण गरिएको अध्यक्ष मोक्तानले बताउनुभयो । गाउँपालिकाले कृषि र पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।