अस्ट्रेलियामा जारी आठौँ संस्करणको टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटमा भारतलाई हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेकाे छ । एडिलेट ओभलमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ग्ल्यान्ड फाइनलमा पुगेकाे हाे ।
भारतले दिएको १ सय सय ६९ रनको लक्ष्य इंग्ल्यान्डले १६ ओभरमा बिना विकेटको क्षतिमा १ सय ७० रन बनाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनरद्वय जोस बट्लर र एलेक्स हालेसले कीर्तिमानी साझेदारी गरे । अर्धशतकीय इनिङ खेलेका एलेक्स ८६ रनमा अविजित रहे । कप्तान बल्टर अर्धशतकीय इनिङ खेल्दै ८० रनमा अविजित रहे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । भारतका लागि हार्दिक पाण्डयले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले । कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए । ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट भए ।इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । क्रिस वोक्स र आदील राशिदले १-१ विकेट लिए । अब इङ्ग्ल्यान्डले फाइनलमा आउँदाे आइतवार मेलबर्नमा पाकिस्तानसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरी फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।











