हेटाैंडा, जेठ १३ । नेपालमा १ वर्षमा उद्योग दर्ता झन्डै १२ प्रतिशतले बृद्धि भएकाे छ । २०८१ फागुनसम्म ९ हजार ९६३ उद्योग दर्ता भएकामा २०८२ सालको फागुनसम्ममा याे सङ्ख्या ११ हजार १४० वटा पुगेको हो ।
आज सङ्घीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार ठूला उद्योगको हिस्सा १३ दशमलव ९ प्रतिशत छ । यस्तै २० प्रतिशत मझौला र ६६ दशमलव १ प्रतिशत साना उद्योग रहेका छन् । उद्योग विभागमा दर्ता भएका उद्योगको स्वीकृत लगानी फागुनसम्म ३७ खर्ब २७ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । पछिल्लो १ वर्षमा ३ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँ थप लगानी स्वीकृत भएको हो ।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ९२१ वटा नयाँ उद्योग दर्ता भएका छन् । गएको फागुनसम्म दर्ता भएका उद्योगको सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिस्सा उत्पादनमूलक उद्योगको रहेको छ । ३३ दशमलव ३ प्रतिशत उत्पादनमूलक उद्योग दर्ता हुँदा सबैभन्दा कम ० दशमलव ७ प्रतिशत पूर्वाधार क्षेत्रका उद्योग रहेका छन् ।











