सुर्खेत । ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले कर्णाली प्रदेशको सुर्खेतस्थित प्रदेशीक अस्पताललाई हृदयरोग विभाग स्थापनार्थ स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले हृदयरोग निदान, उपचार तथा व्यवस्थापनमा अति आवश्यक हुने १ करोड भन्दा बढी मूल्यका मुटुरोग विभाग (कार्डियोलोजी डिपार्टमेन्ट) स्थापनार्थ आवश्यक पर्ने टिएमटी, ईको, इसिजी, हल्टर हार्ट मोनिटर जस्ता विभिन्न अत्यावश्यक उपकरण हस्तान्तरण गरेको हो ।
आज एक कार्यक्रम बिच सुर्खेतस्थित प्रदेश अस्पतालमा सम्पन्न कार्यक्रममा ब्याक टु लाइफ इ भी जर्मनीका अध्यक्ष स्टेला डिट्जेन, कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल र प्रशासनिक निर्देशक अच्युतप्रसाद पौडेलले प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्कालाई सामग्री हस्तान्तरण गर्नु भएकाे हाे । साे अवसरमा प्रदेश अस्पतालका निर्देशक प्रा.डा. खड्काले ब्याक टु लाइफबाट सहयोग प्राप्त उपकरणहरुले मुटुरोग सम्बन्धि समस्या भएका विरामीलाई प्रभावकारी सेवा प्रदान गर्न अति सहज र उपयोगी हुने र कर्णाली प्रदेशका सम्पूर्ण जनताहरु लाभान्वित हुने भन्दै ब्याक टु लाइफले गरिरहेको निरन्तर सहयोगका लागि प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नु भयो ।
कार्यक्रममा ब्याक टु लाइफका निर्देशक डिकेन्द्र ढकालले प्रदेश अस्पताललाई हृदयरोग विभाग स्थापना गर्न ओपिडी रुम, इसीजी रुम, इकोकार्डियोग्राम रुम, ट्रेडमिल रुम र वेटिंग रुमका लागि आवश्यक सम्पूर्ण उपकरणहरु हस्तान्तरण गरिएको जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका प्रशासनिक निर्देशक पौडेलले संस्थाले यस अघि पनि कोभिड १९ को उपचारको लागि आवश्यक पर्ने अति महत्वपूर्ण उपकरणहरु प्रदेश अस्पताल सुर्खेतलाई सहयोग गरेको बताउनुभयाे । ब्याक टु लाइफले कर्णाली प्रदेशको मुगु जिल्ला र विकासका दृष्टिकोणले पछि परेका अन्य जिल्लाहरुमा सन् २००९ देखि स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको उहाँले बताउनुभयाे ।
प्रदेश अस्पताल सुर्खेतले केही समय अघिबाटमात्र मुटुरोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट कार्डियोलोजी सेवा सञ्चालनमा ल्याएको छ ।कार्यक्रममा ब्याक टु लाइफका म्यानेजर अनुप पौडेलले प्रदेश अस्पतालमा भर्खरै स्थापना भएको हृदयरोग विभागको दीगोपनाको लागि प्रदेश अस्पतालका ३ जना स्टाफलाई हालै प्रदान गरिएका उपकरणहरु संचालन सम्वन्धी तालिम प्रदान गर्न संस्थाले शहिद गंगालाल हृदयरोग केन्द्र काठमाडौँसँग संयोजन र सहयोग गरेकोसमेत जानकारी दिनुभयो ।