हेटाैंडा, जेठ १३ । सरकारले निजी अस्पतालबाट प्रदान गर्ने स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आकस्मिकबाहेकका सबै सेवा स्थगित गरेको छ । स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार सबै निजी अस्पतालमा आउँदाे शनिवार जेठ १६ गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको हो ।
बोर्डले निकालेको सूचनामा बोर्डको बढ्दो वित्तीय सङ्कटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गर्ने आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको उल्लेख छ । बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बोर्डमा ३६ वटा निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका थिए । अब बोर्डमा ४४२ सरकारी र २७ सामुदायिक स्वास्थ्य संस्था आबद्ध छन् ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ५ जनासम्मको परिवारका लागि ३ हजार ५०० रुपैयाँ बराबरको योगदानका आधारमा १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै थप प्रतिसदस्य ७०० रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ । स्वास्थ्य बीमा कार्यक्रममा ५९ लाख ७० हजार ४०३ बीमित रहेका छन् ।












