मकवानपुर,२३ पुस । मकवानपुरको हेटौंडामा सार्वजनिक मैदान निर्माण हुने भएको छ । स्थानीय तह, प्रदेश तथा संघीय सरकारको सहयोगमा सुविधा सम्पन्न मैदान निर्माण गरिने भएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित भुटनदेवी माविको पूर्वी क्षेत्रमा खेलकुद तथा अन्य कार्यक्रम गर्न मैदान निर्माण गर्ने गरि तयारी थालिएको हेटौंडा ४ नम्बर वडा अध्यक्ष एवम् भुटानदेवी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
फुटबल, भलिबल, क्रिकेट, बाँस्केटबल लगायतका खेलहरू तथा सार्वजनिक कार्यक्रम सञ्चालन र नियमित व्यायम लगायतका विभिन्न क्रियाकलाप सञ्चालन गर्न सकिने गरि बहुउदेश्यीय मैदान निर्माण गर्न लागिएको सिग्देलले बताए। ‘तत्काल मैदानको सरसफाई कार्य अगाडि बढाईएको छ’ उनले भने ‘उपमहानगरपालिका, वडा, प्रदेश र संघीय सरकारबाट सहयोग जुटाएर सुविधा सम्पन्न मैदान निर्माण गर्ने उद्देश्यले छलफल भैरहेको छ ।’
‘खेल मैदान निर्माण पश्चात विद्यालय तथा क्लबहरूले विभिन्न खेलकुदको कार्यक्रम आयोजना गर्नसक्ने छन् विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले भने ‘अन्य संघ, संस्था, संगठन र दलहरूले विद्यालयको निति अनुसार अनुमति लिएर कार्यक्रम आयोजना गर्न दिइनेछ ।’