मकवानपुर,१४ पुस  । भवन अभावका कारण लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक यसै महिना बस्ने तयारी गरिएको छ। गत भदौ २४ गतेको ‘जेन–जी आन्दोलन’का क्रममा आगजनीबाट प्रदेशसभा भवन क्षतिग्रस्त भएपछि बैठक स्थगित हुँदै आएको थियो । प्रदेशसभा भवन क्षतिग्रस्त भएपछि प्रदेश सरकारले तत्कालका लागि हेटौँडा उपमहानगरपालिका कार्यालय पछाडिको अस्थायी प्रिफ्याव भवन मर्मत गरी बैठक सञ्चालनको तयारी गरेको हो ।

आन्दोलनका क्रममा क्षति पुगेको उक्त भवनको मर्मत–सम्भार अन्तिम चरणमा पुगेको र पुस २२ वा २३ गते बैठक बस्ने गरी तयारी भइरहेको उपसभामुख अप्सरा चापागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यमन्त्रीसँग छलफल भइरहेकाे र मुख्यमन्त्री हेटौँडा आएपछि मन्त्रिपरिषद् बैठक बसेर प्रदेशसभा बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिनेछ। “मुख्यमन्त्री ज्यूसंग कुरा भएको छ, उहाँ हेटौंडा आएपछि मन्त्रीपरिषद् बैठक बसेर प्रदेश सभा बैठक आव्हानकालागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने कुरा छ ।” उपसभामुख चापागाईंले भन्नुभयो।

प्रदेशसभा सचिव रामकुमार पौडेलले पनि बैठक आह्वानका विषयमा छलफल भइरहेको पुष्टि गर्नुभयो । उहाँका अनुसार प्रदेशसभामा हाल प्रदेश आर्थिक कार्यविधि तथा उत्तरदायित्व विधेयक र प्रदेश खानेपानी तथा सरसफाइ विधेयक गरी दुईवटा विधेयक दर्ता भइसकेका छन्। यस्तै प्रदेश चलचित्र विधेयक समितिमा छलफलको क्रममा रहेको छ भने प्रदेश चिठ्ठा विधेयक सभामा पेस भई एक दिन छलफलसमेत भइसकेको छ । चिठ्ठा विधेयकमाथि प्रारम्भिक छलफल भए पनि आन्दोलनका कारण प्रदेशसभा भवन जलेर नष्ट हुँदा बैठक बस्न नसक्दा विधेयक पारित हुन बाँकी रहेको सचिव पौडेलले जानकारी दिनुभयो । यस बाहेक वन ऐन र वातावरण ऐन पनि प्रदेशसभामा पेस हुने क्रममा रहेको उपसभामुख चापागाईंले बताउनुभयो ।

अब बस्ने १७औँ अधिवेशनमा प्रदेशसभाका सभामुख भूवनकुमार पाठकको राजीनामापछि रिक्त रहेको सभामुख पदमा चयन प्रक्रिया सबैभन्दा महत्वपूर्ण एजेन्डाका रूपमा रहने देखिएको छ। प्रमुख राजनीतिक दलहरूबीच सभामुख चयन प्रक्रियामै सहमति नजुट्दा बैठक बस्न ढिलाइ भएको कतिपय नेताहरूको भनाइ छ । यसअघि प्रदेशसभाको चालु १६औँ अधिवेशन गत मंसिर ३ गते रातिदेखि अन्त्य गरिएको थियो ।