हेटौँडा,१४ पुस  । मकवानपुरगढी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा पनि नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखासँग सहकार्य गर्दै आकस्मिक अवस्थामा आवश्यक पर्ने मानव रगत गाउँपालिकाका बासिन्दालाई निशुल्क उपलब्ध गराउने सम्झौता गरेको छ । गत वर्ष झैँ यो वर्ष पनि सेवा निरन्तरता दिन दुबै पक्षबीच आज औपचारिक सम्झौता भएको हो ।

स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेका अनुसार सम्झौता कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रीन नेपाली, प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछाने तथा नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखा प्रमुख लक्ष्मण भट्टराई, ब्लड बैंक प्रमुख टङ्क दाहाललगायतको उपस्थिति रहेको थियो ।
स्वास्थ्य शाखाका अनुसार चालु आ.व. २०८२/८३ को पौष १३ गतेसम्म २२ जनाले ६७ युनिट रगत ट्रान्सफ्युजन सेवा लिइसकेका छन् । यसबाट प्रति बिरामी औसतमा करिब २ हजार ५५० रुपैयाँ बराबरको प्रत्यक्ष सहयोग पुगेको छ ।
स्वास्थ्य शाखा प्रमुख लामिछानेका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा भने ७६ जना सेवाग्राहीले यो सुविधा लिएका थिए । उनीहरूका लागि जम्मा २१० युनिट रगत प्रयोग भएको थियो । सम्झौताअनुसार प्रति युनिट ८५० रुपैयाँका दरले गाउँपालिकाले भुक्तानी गर्ने हुँदा गत वर्ष मात्रै गाउँपालिकाले करिब १ लाख ७८ हजार ५ सय रुपैयाँ खर्च गरेको जनाइएको छ ।
गाउँपालिकाले आकस्मिक अवस्था तथा दीर्घरोगका कारण नियमित रूपमा रगत ट्रान्सफ्युजन गराउनुपर्ने सबै सेवाग्राहीलाई यो सुविधा लिन आग्रह गरेको छ । सेवा लिन अस्पतालबाट जारी गरिएको ब्लड मागपत्र र बिरामीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित नेपाल रेडक्रस सोसाइटी, ब्लड बैंक हेटौँडा शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।