मकवानपुर, १३ साउन । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनीक गर्नुभएको छ । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्री महर्जनले आफ्नो एक वर्षे कार्यकालमा डिजिटल यातायात र श्रम सुधारका महत्वपुर्ण कामहरु भएको दाबि गर्नुभयो ।
मन्त्री महर्जनले आफ्नो एक वर्षे कार्यकालमा प्रविधिमैत्री सेवा विस्तार, यातायात प्रणाली आधुनिकीकरण र श्रम व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि भएको दाबी गगर्नुभयो । उहाँले डिजिटल लाइसेन्स, ब्लूबुक अनलाइन, विद्युतीय नीति र विभिन्न तालिमलगायत नयाँ अभ्यासहरु भएको भन्दै एक वर्षमा डिजिटल सेवा, पूर्वाधार विस्तार र श्रम क्षेत्रमा उल्लेख्य सुधार भएको दावि गर्नुभयो ।
पत्रकार सम्मेलनमा उहाँले डिजिटल सेवा र पूर्वाधार तर्फ प्रदेशमा ८ लाख ५० हजार लाइसेन्स छपाई बाँकी रहेको अवस्थामा मोबाइलमै देखिने ‘डिजिटल लाइसेन्स’ सेवा सुरु भएको बताउनुभयो । यस्तै ट्राफिक प्रहरी प्रणाली नागरिक एपसँग जोडिएपछि प्रतिदिन २५ देखि ३० हजार प्रयोगकर्ताले डिजिटल लाइसेन्स प्रयोग गरिरहेको साथै जरिवानासमेत मोबाइलमै तिर्ने गरेको बताउनुभयो । ब्लूबुक पनि मोबाइलमै जाँच, नवीकरण र कर तिर्ने सुविधा सुरु भएको भन्दै उहाँले करिब २६ लाख सवारी अभिलेख डिजिटाइज गर्ने कार्य अघि बढेको बताउनुभयो ।
मन्त्री महर्जनले प्रदेश सरकारले आफ्नै डिजिटल लाइसेन्स प्रणाली विकास गरी बायोमेट्रिक परीक्षा परीक्षण सुरु गरेको भन्दै उहाँले काठमान्डौं स्थित गुर्जुधारामा ४० करोड लागतको यातायात कार्यालय भवन निर्माण अघि बढेको साथै स्वास्थ्य परीक्षण शुल्क १७५ रुपैयाँ सीमित गरिएको जानकारी दिनुभयो । उहाँले सवारी दर्ता र बिमा प्रणालीलाई पनि डिजिटल पारेर पारदर्शिता बढाउने प्रयास गरिएको बताउनुभयो ।
मन्त्री महर्जनले २० वर्ष नाघेका सवारीलाई विद्युतीयमा रूपान्तरण गरी सोही रुटमा सञ्चालन अनुमति दिने नीति अघि बढाइएको साथै पाँच स्थानमा चार्जिङ स्टेशन स्थापना गर्ने योजना सुनाउनुभयो । यस्तै विपन्न वर्गका २५० महिलालाई निःशुल्क सवारी चालक तालिम दिइएको, जसले स्वरोजगारका अवसर र यातायात क्षेत्रमा महिलाको सहभागिता बढाउने अपेक्षा गरिएको बताउनुभयो ।
उहाँले प्रदेश श्रम नीति कार्यान्वयन भइसकेको र श्रम ऐन मस्यौदा तयार हुँदै गरेको भन्दै पाँच वर्षे श्रम रणनीति निर्माण भइसकेको र श्रम सल्लाहकार परिषद्को पहिलो बैठकसमेत सम्पन्न भएको उपलब्धी सुनाउनुभयो । यस अवधिमा मन्त्रालयले १३ अर्ब राजस्व लक्ष्य राखेकोमा १३ अर्ब ४० करोड संकलन गरेको समेत उहाँले बताउनुभयो ।
मन्त्री महर्जनले यी सुधारहरूले सेवा प्रवाहमा सहजता र पारदर्शिता ल्याएको भएपनि प्रणालीलाई दिगो बनाउन प्राविधिक दक्षता, पूर्वाधारको समयमै विस्तार र सर्वसाधारणमा सचेतना अभिवृद्धि आवश्यक देखिएको बताउनुभयो । डिजिटल सेवा ग्रामीण भेगमा प्रभावकारी रूपमा लागू गर्न अझै चुनौती रहेको साथै श्रम नीति र श्रम ऐनलाई कार्यान्वयनमा ल्याउँदा वैदेशिक रोजगारका चुनौती र आन्तरिक श्रम बजार व्यवस्थापनमा समन्वय बढाउनु पर्ने देखिएको उहाँको भनाई थियो । सो क्रममा मन्त्री महर्जनले सेवा अझ प्रविधिमैत्री बनाउँदै सुधार निरन्तर गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
बागमती प्रदेशका यातायातमन्त्री महर्जनकाे एक वर्षे उपलब्धि सार्वजनीक
डिजिटल यातायात र श्रम क्षेत्रमा उल्लेख्य सुधार भएको दावि









