गाेबिन्द थापा– विश्वमा सबैभन्दा महान छ चन्द्रसूर्य अंकित नेपालको झण्डा । विश्व समुदायले स्वीकार गरेको कुरा हो– विश्वमा सबैभन्दा सुन्दर र फरक कुनै राष्ट्रिय झण्डा छ भने त्यो नेपालकै हो । 

नेपालको राष्ट्रिय झण्डाले समग्र नेपालको प्रतिनिधित्व गर्छ, समस्त जनताको प्रतिनिधित्व गर्छ । यो झण्डा कोही एक व्यक्तिले बनाएको होइन, नेपाली भूमिमा रहेका सबै जनताका पुर्खाले हजारौं हजार वर्षको कालखण्डमा यो झण्डा विकास गरेका हुन् । यो झण्डाको विकासमा हरेक नेपाली नागरिकका पुर्खाको योगदान छ । त्यसैले हिमाल, पहाड तराईका जनताको साझा झण्डा हो । नेपालका प्रत्येक नागरिकले यो झण्डा आफ्नो हो भन्न सक्छ । नेपालमा प्रचलित हरेक धर्म र संस्कृतिको प्रतिनिधित्व गर्छ यो झण्डाले । हरेक नेपालीको भावना जोडिएको झण्डा हो यो । 

यो झण्डासँग हरेक नेपालीको जस्तै मेरो पनि गहिरो नाता गासिएको छ । भावना गासिएको छ । यो झण्डासँग मेरो केही ऐतिहासिक र रोचक क्षण पनि गासिएको छ । यसका लागि म गौरववोध गर्छु ।

भेटिएन झण्डाको ब्याज

यो प्रसंग हो वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको । त्यसबेला उहाँ पार्टी स्थायी समितिका सदस्य हुनुहुन्थ्यो । 

पहिलो संविधान सभाको चुनावमा केपी शर्मा ओली विजयी हुन सक्नुभएन । आफू संविधान सभामा पुग्न नसकेकोमा भन्दा पनि आफ्नो अनुपस्थितिमा संविधान नबन्ने या बने पनि गलत संविधान बन्ने उहाँको चिन्ता देखिन्थ्यो । 

पहिलो संविधान सभा चुनावको केही समयपछि म उहाँको निवास बालकोट भक्तपुर पुगेको थिएँ । त्यसबेला नेपालको राष्ट्रियतामाथि संविधान सभाभित्रैबाट प्रहार सुरु भएको थियो । नेपाली एकता भत्काउन प्रयास भइरहेको थियो । नेपालको राष्ट्रिय झण्डामाथि समेत प्रहार भइरहेको थियो । चुनावमा नेकपा एमाले तेस्रोमा सीमित भएको थियो, नेकपा एमाले माथि सर्वत्रबाट प्रहार भइरहेको थियो, नेता ओलीमाथि झन कडा व्यक्तिगत प्रहार भइरहेको थियो, भौतिक रुपमा समेत ओलीलाई सफाया गर्ने दुष्प्रयास गरिँदै थियो ।

उहाँले आफूमाथिको प्रहारको कुनै चर्चा गर्नुभएन । चिन्ता पनि गर्नुभएन । नेपाली एकतामाथि भइरहेको प्रहार, नेपालको राष्ट्रिय झण्डा उपर समेत भइरहेको प्रहारको चिन्ता गर्नुभयो । देशको नाम नै फेर्नुपर्छ, झण्डा समेत फेर्नुपर्छ भनेर आवाज उराल्ने काम भइरहेको थियो । त्यस्ता सबै चर्चा गरेपछि उहाँले मलाई एउटा काम लगाउनुभयो । काम थियो– छातीमा सजाउन मिल्ने राष्ट्रिय झण्डाको ब्याज बनाउने ।

छातीमा लगाएर हिँड्न मिल्ने चिटिक्क परेको राष्ट्रिय झण्डाको ब्याज उहाँले चाहनुभएको थियो । 

राष्ट्रिय झण्डा मात्र भएको ब्याज कहाँ पाइन्छ ? खोज्न थालें । बिलकुल पाइएन । म आश्चर्यमा परें । झण्डा भएको ब्याज किन्न जाँदा स्वदेशी विदेशी नेताहरुको फोटो भएको ब्याज बेच्न राखिएको देखें । राजा महाराजाहरुको फोटो भएको ब्याज पनि देखें । पार्टीका झण्डा भएको ब्याज पनि देखें । पार्टीका चुनाव चिन्ह भएको ब्याज पनि देखें । तर, राष्ट्रिय झण्डाको ब्याज भने कतै पनि देखिँन, कतै किन्न पाइएन । 

झण्डा भएको ब्याज किन्न नपाइएको उहाँलाई भनें । उहाँले जवाफ दिनुभयो– किन्न पाइँदैन भन्ने थाहा भएरै बनाउने काम गर्नु भनेको हूँ । 

मैले कतिवटा ब्याज बनाउने भनेर सोधें । उहाँले भन्नुभयो– ‘सारा नेपालीको छातीमा सजाउन पुग्ने संख्यामा बनाउने ।’

केपी ओली हरेक नेपालीको छातीमा राष्ट्रिय झण्डा सजाउने पक्षमा हुनुहुँदो रहेछ । हरेक नेपालीको छातीभित्र राष्ट्रिय झण्डा छ, अब छाती बाहिर पनि देखिने गरी लगाउनुपर्यो, त्यस्तो अभियान चलाउनुपर्यो भन्नुभयो । तत्कालै बनाउन थाल्नु भन्नुभयो । 

त्यसपछि म पुगें बागबजार स्थित मेटा आर्ट कन्सर्नमा र तेह्रथुमको आठराई निवासी मोहनकुमार डाँगीलाई भेटें । उहाँले झण्डा भएको ब्याज बनाउन सकिन्छ भन्नुभयो । सबैभन्दा मुख्य कुरा, हाम्रो राष्ट्रिय झण्डा छातीमा सजाउने गरी ब्याज बनाउने काम उहाँलाई असाध्यै मन पर्यो । उहाँले ब्याजको डिजाइन गर्नुभयो । डिजाइन लगेर मैले केपी ओलीलाई देखाएँ । उहाँलाई चित्त बुझेन । उहाँले नै केहीवटा डिजाइन प्रस्ताव गर्नुभयो । आफैं चित्र कोर्नुभयो । त्यो लगेर मैले मोहनजीलाई दिएँ । त्यो डिजाइनका आधारमा मोहनजीले ब्याज बनाउन थाल्नुभयो । 

केपी ओली जतिसक्दो चाँडो र जतिसक्दो धेरै संख्यामा ब्याज चाहनुहुन्थ्यो । तर, मोहनजीले तत्कालका लागि पाँच हजार मात्र बनाउन सकिन्छ भन्नुभयो । पाँच हजार बनाएपछि निरन्तर ब्याज बनाउने प्रतिवद्धता देखाउनुभयो । पाँच हजार ब्याज तयार भयो । केपी ओलीको निवास बालकोटमा ठूलो कार्टुनमा हालेर त्यो ब्याज लगियो । उहाँले ब्याज हेर्नुभयो । हेरेर असाध्यै खुसी हुनुभयो र सोध्नुभयो– यति थोरै ब्याज ?

मैले भने– अब मोहनजीले निरन्तर ब्याज बनाउनुहुन्छ ।

र, त्यो दिनदेखि लगातार

केपी ओलीले ब्याज हातमा लिनुभयो । त्यसपछि आफ्नो कोटमा लगाउनुभयो । त्यहाँ उपस्थित सबैलाई बाँड्नुभयो । त्यसपछि अभियानकै रुपमा राष्ट्रिय झण्डा बाँड्न थाल्नुभयो । जहाँ जाँदा पनि राष्ट्रिय झण्डाको ब्याज उपहार दिन थाल्नुभयो । पार्टीका नेता, कार्यकर्ता तथा अन्य सबैलाई उपहार दिने अभियान चलाउनुभयो । 

पाँच हजार झण्डा केही दिनमै सकियो । मोहनजीले थप झण्डा बनाउँदै दिन थाल्नुभयो । मोहनजी झण्डा बनाउने, केपी ओली बाँड्ने । कुनै होहल्ला नगरी, कुनै प्रचार नगरी यो अभियान चल्यो । राष्ट्रिय झण्डा मानिसका छातीमा देखिन थाले । 

अभियान यतिमा सीमित रहेन । केपी ओली विभिन्न ठाउँमा जाँदा झण्डा बाँडेर सकिन्थ्यो । मानिसलाई दिनलाई झण्डा हुँदैनथ्यो । त्यसपछि कार्यकर्ताहरुलाई झण्डाको ब्याज आफैं बनाएर बाँड्नु भनी सबैलाई आग्रह गर्न थाल्नुभयो । 

त्यसपछि झण्डाको ब्याज बनाउने मोहनजी एक्लो रहनुभएन । अरुले पनि झण्डाको ब्याज उत्पादन गर्न थाले । पसलमा किन्न पाइने अवस्था आयो । हाम्रो राष्ट्रिय झण्डा छातीमा सजाउँछु भन्ने जो कसैका लागि झण्डा उपलब्ध भयो । 

सर्वत्र राष्ट्रिय झण्डाको ब्याज फैलियो । विदेश जानेहरुले पनि विदेशी तथा नेपाली आफन्तलाई दिन ब्याज लिएर जान थाले । राष्ट्रिय झण्डाको ब्याज स्वदेशमा मात्र होइन, विदेशमा समेत फैलियो । केपी ओलीले थाल्नुभएको अभियान सार्थक बन्यो । यता ओली झण्डा बाँड्दै हुनुहुन्थ्यो, उता पार्टीभित्र तथा अन्य सार्वजनिक थलोमा उहाँले झण्डा र देशको नाम फेर्न हुँदैन भनेर व्यापक बहस चलाइरहनुभएको थियो ।

राष्ट्रिय झण्डाको महिमा बढ्दै गयो । केपी ओलीले राष्ट्रिय झण्डाको सम्मान वृद्धिमा निरन्तर अभियान चलाउनुभयो । त्यसपछि आयो १६ माघ ०७३ को दिन । त्यो दिन ओलीले काठमाडौंको माइतीघरमा नेपालको सबैभन्दा ठूलो राष्ट्रिय झण्डा उद्घाटन गर्नुभयो । युवा विद्यार्थीहरुले त्यहाँ राष्ट्रिय झण्डा राख्ने योजना ल्याएका थिए । ओली प्रमुख अतिथि बन्नुभएको थियो । त्यस यता माइतीघरमा निरन्तर राष्ट्रिय झण्डा फहराइरहेको छ ।

अर्काे कदम

जतिबेला केपी ओलीले राष्ट्रिय झण्डाको ब्याज तयार पार्न लगाउनुभयो, त्यसबेला नेपालको झण्डा त्यसरी प्रयोग गर्न पाइने कानूनी व्यवस्था नै थिएन । व्यक्तिले आफ्नो प्यारो राष्ट्रिय झण्डा सम्मानसाथ प्रयोग गर्न पाउने सम्बन्धमा कानून या कुनै सरकारी लिखत बोलेको थिएन । राष्ट्रिय झण्डाका अभियन्ता केपी ओली आफैं प्रधानमन्त्री भएपछि परिस्थिति फेरिनु नै थियो । 

अहिले प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय झण्डा प्रयोग सम्बन्धी कार्यविधि फेरबदल गर्नुभएको छ । अब हरेक नेपालीले आफ्नो प्यारो झण्डा फहराउन पाउने भएका छन् । विगतमा मनभित्र मात्र चन्द्रसूर्य झण्डा सजाउन पाइन्थ्यो, फहराउन पाइन्थ्यो, सरकारी कार्यालय र ठूला पदमा भएकाहरुले झण्डा फहराएको हेरेर चित्त बुझाउनुपथर््यो । आफ्नो झण्डा आफूले प्रयोग गर्न नपाउने अवस्था थियो । झण्डालाई जनतामाझ पुग्न दिइएको थिएन । 

केपी ओलीको झण्डाप्रेमको परिणाम हो झण्डा सम्बन्धी निर्देशिका परिवर्तन । संविधान दिवस यस वर्षबाट राष्ट्रिय दिवस पनि बनेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसलाई झण्डामय बनाउने निर्णय सरकारले गरेको छ । तसर्थ, संविधान दिवस भनेको झण्डा दिवस पनि हो । नेपालको महान झण्डालाई यसरी माथि उठाएकोमा, झण्डाको सम्मान बढाएकोमा, झण्डालाई जनताको मनभित्र मात्र होइन छातीछातीमा र हातहातमा पुराएकोमा, घरघरमा पुराएकोमा धन्यवाद दिनैपर्छ । धन्यवाद सरकार ।

साधारण जस्तो लागेको थियो त्यसबेला झण्डाको ब्याज बनाउने काम । तर, अहिले फर्किएर हेर्दा त्यो काममा संलग्न भएकोमा मलाई गर्व लाग्छ । हरेक नेपालीको छातीमा झण्डा सजाउने कामको हिस्सा बन्न पाउनु मेरो सौभाग्य हो । 

हाम्रो प्यारो राष्ट्रिय झण्डा महान छ । यो नेपालको राष्ट्रिय झण्डा मात्र होइन, विश्व मानवताको झण्डा पनि हो । विश्वभरीका मानवका लागि शान्ति, सहिष्णुता, प्रेम, एकता, भ्रातृत्वको प्रतिक हो । हाम्रो झण्डालाई ह्रदयभित्रबाट शिर झुकाई सबैले अभिनन्दन गरौं ।

#सनराइज-खबरबाट