मकवानपुर– बागमती प्रदेश सरकारको ५० प्रतिशत आर्थिक सहयोगमा प्रदेशको राजधानी हेटौंडामा एक सय टन क्षमताको बटर कोल्ड स्टोर निर्माण हुने भएको छ । एक करोडको लागतमा हेटौंडा–१०, न्यूरेनीमा निर्माण हुने कोल्ड स्टोरका लागि आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा प्रदेश दुग्ध विकास बोर्डका निर्देशक डा. शरण कुमार पाण्डे र हेटौंडा दुग्ध विकास आयोजनाका निमित्त आयोजना प्रमुख नरेश कुमार जोशीले हस्ताक्षर गर्नु भएको दुग्ध विकास बोर्डका अधिकृत डा. शत्रुधन साहले बताउनु भयो । दुधबाट बनेका परिकारहरु भण्डारणमा समस्या रहँदै आएकाले प्रदेश दुग्ध विकास बोर्ड र दुग्ध विकास आयोजना (डीडीसी) को ५०÷५० लाख रुपैयाँको साझेदारीमा कोल्डस्टोर निर्माण गर्न लागिएको हो । निर्माण सम्पन्नपछि बटर कोल्ड स्टोरमा एक सय टन चिज, बटर लगायतको परिकारहरु भण्डारण गर्न सकिने र निर्माण सम्पन्न भएपछि डीडीसीलाई हस्तान्तरण गरिने साहले बताउनु भयो ।