file photo

मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले ईसाई धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व ‘क्रिसमस डे’ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आइतबार एक विज्ञप्ति जारी गर्नुहुँदै क्रिसमस डेलाई इसाईहरुको महत्वपूर्ण पर्व भएको उल्लेख गर्नुभएको छ ।
शुभकामना सन्देशमा उहाँले संवैधानिक व्यवस्था अनुसार नेपाल धर्म निरपेक्ष राज्य भएको भन्दै सनातनदेखि चलिआएको धर्म, संस्कृतको संरक्षण, धार्मिक सांस्कृतिक स्वतन्त्रताको अनुसरण–उपयोग हाम्रो मौलिक अधिकार रहेको उल्लेख गर्नुभएको छ । सन्देशमा उहाँले भन्नुभएको छ, ‘यस सन्दर्भमा डिसेम्बर २५ लाई इसाई धर्मावलम्बीहरुले मनाउने क्रिसमस पर्व एउटा महत्वपूर्ण दिवस हो ।’ यो पर्वको अवसरमा इसाई मतावलम्बीहरुका साथै बागमती प्रदेशबासी एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाई–दिदिबहिनीहरुमा सुख, शान्ति र प्रगतिको कामना गर्नुभएको छ । यस्तै शर्माले यस पर्वले हामीबीचको एकता सुदृढ गर्न, सामाजिक सद्भाव अभिवृद्धि गर्न र धार्मिक सहिष्णुता कायम राख्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना समेत व्यक्त गर्नुभएको छ ।