हेटाैंडा – नेपाल पत्रकार महासङ्घको साधारणसभा १५ बुँदे सुर्खेत घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा शुक्रबारदेखि सुरु भएको साधारणसभा आज समापन भएको हो ।
साधारण सभाले महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गर्दै घोषणा जारी गरिएको महासचिव रोशन पुरीले जानकारी दिनुभयो । साधारण सभाबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीन वटै तहका सरकारलाई आग्रह गरिएको छ । संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठन भएका तीन वटै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको भन्दै यसलाई कार्यान्वयनमा ल्याउन आग्रह गरिएको हो ।

संविधान अनुसारका सञ्चार कानुन तत्काल निर्माण गर्न र पुराना कानुनमा सुधार ल्याउन सम्बद्ध पक्षसँग माग गरिएको छ । साधारण सभाको घोषणामार्फत नै साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा विभिन्न मातृभाषाका सञ्चार माध्यम दिगो र भरपर्दो ढङ्गले सञ्चालनका लागि सरकारले प्रदान गर्दै आएको लोक कल्याणकारी विज्ञापन बढाउन र समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न माग गरिएको छ । श्रमजीवी पत्रकारको निःशुल्क उपचार, दुर्घटना र स्वास्थ्य बिमाका सम्बन्धमा विगतमा सरकारले गरेका निर्णयको प्रभावकारी कार्यान्वयनका लागि माग गरिएको छ ।
नेपाल पत्रकार महासङ्घका सदस्यको शुद्धीकरणलाई थप प्रभावकारी बनाउन अद्यावधिक गर्न निर्देशन दिइएको छ भने मुलुकको बहुलता र विविधतालाई आत्मसात गर्दै सञ्चार प्रतिष्ठानका विषयवस्तु र संरचनालाई लैङ्गिक, समावेशी र अपाङ्गतामैत्री एवं कार्यस्थललाई सुरक्षित बनाउन सबै सञ्चार प्रतिष्ठानलाई आह्वान गरिएको छ । यसैगरी पत्रकार आचारसंहिताको पूर्णपालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्दै सांस्कृतिक र पर्यटकीय रूपमा समृद्ध कर्णाली प्रदेशको पर्यटन, भाषा, कला र साहित्यको प्रचार एवं संवर्द्धनका लागि सबै तहका सरकारलाई यो साधारण सभामार्फत आह्वान गरिएको छ ।