मकवानपुर । मकवानपुरमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग स्थित हेटौंडा-१० राप्तीरोडमा भएको दुर्घटनामा परि एक शिक्षकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौडा-१० राप्तीरोड स्थित बुद्धचोकबाट थानाभयाङ तर्फ जादै गरेको ना ४३ प ४५१५ नम्बरको मोटरसाइकल दुर्घटनामा परि मोटरसाइकल चालक धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका- ४ घर भएका ४५ वर्षीय दिपेन्द्र कुमार झा को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । दुर्घटनामा गम्भिर घाईते भई उपचारको लागी हेटौडा अस्पताल पठाएकोमा उपचारकै क्रममा उहाँको मृत्यु भएको र शव सोहि अस्पतालमा रहेको प्रहरीले जनाएको छ । झा जिल्लाको राक्सिराङ गाउँपालिका-९, अठारेस्थित कालिका माविका प्रधानाध्यापक हुनुहुन्थ्यो ।









