मकवानपुर । बागमती प्रदेश सरकार र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच आठ बुँदे सहमति भएपछि केही दिनदेखि अवरुद्ध भएको प्रदेशसभा बैठक बिहीबार साँझदेखि पुनः सञ्चालनमा आएको छ। आगामी आर्थिक वर्ष २०८२र८३ को विनियोजन विधेयकमाथि देखिएका कमजोरी र विवाद समाधान गर्न सर्वदलीय बैठकमार्फत सहमति जुटाइएको हो ।
सहमतिको मुख्य बुँदामा बजेटमा देखिएका नीतिगत त्रुटिहरू सच्याउने, अपारदर्शी र अनधिकृत कार्यक्रमहरू हटाउने, बहुवर्षीय आयोजनामा अपुग बजेटको व्यवस्थापन गर्ने, र आगामी बजेट निर्माण प्रक्रियामा सबै दलहरूको सहभागिता सुनिश्चित गर्ने निर्णय समावेश छन् । साथै, नामै तोकिएका गैरसरकारी संस्थाहरूका कार्यक्रम कार्यान्वयन नगर्ने, अनुदान कटौती गर्ने र मन्त्रालयहरूको कार्यक्षेत्रअनुसार मात्र कार्यक्रम अघि बढाउने सहमति भएको छ ।
सहमति पश्चात् बिहीबार साँझ बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम बहादुर सिंह लामा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमकट्टेलले आ–आफ्ना धारणा राख्नुभयो । नेता जमकट्टेलले प्रस्तुत बजेटमा गम्भीर सैद्धान्तिक विचलन देखिएको, घाटा बढाइएको, र विज्ञहरूसँग परामर्श नगरी नीति बनाइएको भन्दै गम्भीर आपत्ति जनाउनुभयो ।
जवाफमा मुख्यमन्त्री लामाले प्रतिपक्षीको आलोचना र सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै, सदनभित्र र बाहिर उठेका आवाजहरूको सम्मान गर्दै आवश्यक नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सबैको सुझाव समेट्दै प्रदेशको समृद्धिका लागि बजेट अगाडि बढाइने स्पष्ट गर्नुभयो ।
तर, हिजोको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी भएन । बजेटमा अत्यधिक त्रुटि, अनियमितता र असमानुपातिक वितरण भएको आरोप लगाउँदै राप्रपाले बैठक बहिष्कार गरेको हो । प्रदेश सभाको अर्को बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि विभिन्न सांसदहरूले धारणा राख्ने कार्यक्रम रहेको छ ।