कैलाश — भूमि समस्या समाधान आयोग मकवानपुरले बिहीबार कैलाश गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको कार्यालय कालिकाटारमा आयोजित कार्यक्रममा आयोगका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईं प्रमुख अतिथि रहनु भयो भने अध्यक्षता गाउँपालिका प्रमुख लोकबहादुर मुक्तानले गर्नुभयो।
चौलागाईंले भूमिसम्बन्धी समस्या समाधानका लागि आयोग सक्रिय रहेको बताउनुभयो । उहाँले तयार फाइलहरू समयमै अनलाइन प्रविष्टि गर्न आग्रह गर्नुभयो । अध्यक्ष मुक्तानले प्रमाणीकरण भएका फाइलहरू लामो समयदेखि रोकिएको बताउँदै पुनः सूचना जारी गर्नुपर्ने माग गर्नुभयो ।
भूमि शाखा प्रमुख हस्तराम नेगीका अनुसार ६२५ जनाको विवरण संकलन भइसकेकोमा ४६९ जनाको अनलाइन प्रविष्टि गरिएको छ । तीमध्ये ६ जना भूमिहिन दलित, ६७ जना सुकुम्बासी र बाँकी अव्यवस्थित बसोबासी छन् । कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्ल, आयोग सदस्यहरू, वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू र वडा सचिवहरूको उपस्थिति थियो ।











