मकवानपुर– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कलाई भरपर्दो र व्यवस्थित बनाउनु पर्ने बताउनुभएको छ । राष्ट्रिय जनगणना २०७८ को तयारी लागि आज हेटौंडामा भएको जिल्ला स्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रममा उहाँले जनगणना भरपर्दो र व्यवस्थित सबैको सहभागिता हुनुपर्ने बताउनुभएको हो ।
प्रमुख खुलालले जनगणनाले सुखी नेपाली सम्वृद्ध नेपालको नारा पूरा गर्ने लक्ष्य लिएको भन्दै राष्ट्रको योजना निर्माणमा तथ्याङ्काको महत्व हुने हुनाले यसलाई विश्वासीलो र व्यवस्थित बनाउनु पर्ने बताउनुभयो । राज्यको पुनसंरचना अनुसार समुदाय स्तर सम्म पुगेर तथ्याङ्क संकलन गर्न उहाँले सुझाव समेत दिनुभयो । उहाँले गणकहरुले घर घरमा गएर तथ्यांक संकलन गर्नुपर्नेमा जोड दिँदै सही तथ्यांकले नै वास्तविक अवस्थाको पहिचान हुने हुँदा यस तर्फ सबै सरोकारवाला सचेत हुनु पर्ने बताउनु भयो । प्रमुख खुलालले जनगणनालाई सफल बनाउन सबैको सहभागिता आवश्यक रहेको भन्दै जिल्ला समन्वय समितिले जनगणना सफल बनाउन सक्दो सहयोग गर्ने समेत बताउनुभयो ।
आगामी २०७८ जेठ २५ देखि असार १५ गतेसम्म गरिने जनगणनालाई सफल र प्रभावकारी बनाउन जिल्ला स्थित सरोकारबालाहरुवीच अन्तक्रिया तथा छलफल गरी कार्यक्रमबारे जानकारी गराईएको हो । नेपालमा हाल सम्म ११ ओटा जनगणनाहरु सम्पन्न भैसकेको र देश संघियतामा गईसकेपछिको पहिलो गणना हुन लागेको हो । कार्यक्रममा तथ्यांक कार्यालय हेटौंडाका प्रमुख राजेश दासले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै हरेक १० बर्षमा लिईने जनगणनाले देशको समग्र अवस्थाबारे जानकारी गराउने बताउनु भयो । उहाँले जनगणना कार्य देशकै प्रमुख कार्यभार भएकाले यसलाई सफल बनाउन सबैको भूमिका रहने बताउनु भयो । तथ्यांक अधिकृत दासले जनगणनाको महत्व, आवश्यक्ता र यसले देश विकासलाई पार्ने प्रभावबारे प्रकाश पार्नु भएको थियो । जनगणनामा विभिन्न विधिको प्रयोग गरिने र थप सुदृढीकरण गर्दै आवश्यक सबै सूचना लिईने बताईएको छ । तथ्यांक कार्यालय हेटौंडाको आयोजनामा भएको कार्यक्रम प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको अध्यक्षतामा भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामालगायत विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती थियो ।