मकवानपुर, १७ जेठ — मकवानपुरमा नागरिककाे तहबाट शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यका साथ स्थापना भएको शैक्षिक सहयोग अक्षयकोष नेपाल मकवानपुरको वार्षिक साधारणसभा यहि असार ६ गते हुने भएको छ । संस्थाका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा शनिबार बसेको बैठकले आगमी असार ६ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।

अध्यक्ष खुलालका अनुसार बैठकले साधारण सभा आयोजना गर्ने सम्बन्धमा विभिन्न जिम्मेवारी प्रदान गरेर तयारी सुरू गरेकाे छ । बैठकले आगामी असार ६ गते संस्थाको साधासभा आयोजना गर्ने, पछिल्लो समय संस्थागत, विशिष्ट र आजिवन सदस्यता लिनुभएका सदस्यहरूको सदस्यता अनुमोदन गर्नुका साथै साधारण सदस्यहरूलाई साधारणसभा अगाबै सदस्यता नवीकरण गरिसक्न अनुरोध गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
जिल्लामा शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यका साथ २०७६ सालमा स्थापीत संस्थामा हालसम्म संस्थागत, विशिष्ट, आजिवन र साधारण सदस्य गरि करीब १७५ जना सदस्य रहनु भएको र कोषमा करीब २० लाख रकम जम्मा भईसकेको छ । अक्षयकोषले कार्यविधि बनाएर जिल्लाका अभिभावक विहीन, असहाय, द्धन्दपिडीत, जेहेन्दार, संकटग्रस्त बालबालिकालाई छात्रबृत्ति प्रदान गर्ने गरेको छ ।











