झन्डै साढे दुई सय वर्षमा पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर ५० प्रतिशतभन्दा धेरैले बढेको पाइएको छ । अमेरिकाको राष्ट्रिय महासागर र वायुमण्डल प्रशासनले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर औद्योगिक क्रान्ति अघिको तुलनामा अहिले ५० प्रतिशतभन्दा भन्दा बढी भएको हो ।
विश्वमा १८औँ शताब्दीको मध्यदेखि १९औँ शताब्दीको मध्यसम्म औद्याेगिक क्रान्ति भएको थियो । मे महिनामा मापन भएको तथ्याङ्क अनुसार पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च तहमा पुगेको पनि प्रतिवेदनमा भनिएको छ । सन् २०२१ मा ३६ दशमलव ३ अर्ब टन कार्बनडाइअक्साइड उत्सर्जन भएको थियो । संसारभरका पावर प्लान्ट, उद्योग, गाडी लगायतका कारण वायुमण्डलमा कार्बनडाइअक्साइड बढेको हो ।
कार्बनडाइअक्साइडको वृद्धीले जलवायु परिवर्तनको असर झनै बढिरहेको पाइएको पनि अमेरिकाको राष्ट्रिय महासागर र वायुमण्डल प्रशासनका प्रशासक रिक स्पिनराडले उल्लेख गर्नुभएको छ । प्रतिवेदनमा कार्बनडाइअक्साइडको मात्र घटाउन सबै देशहरुले तत्कालै गम्भीर कदम चाल्न आवश्यक रहेको सुझाव दिइएको छ । कार्बनडाइअक्साइडको वृद्धीबाट भएको जलवायु परिवर्तनले मानिससँगै पशुपक्षी तथा वनस्पतिहरुमा पनि असर पुगेको विज्ञहरुले बताएका छन् ।