मकवानपुर । बागमती प्रदेश सभाको सोह्रौँ अर्थात बजेट अधिवेशन आज सोमबारबाट सुरु हुँदैछ । अधिवेशनको पहिलो बैठक आज बिहान ११ बजेका लागि आव्हान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त बैठक आह्वानसम्बन्धी पत्रहरू पढेर सुनाइनेछ । प्रदेश प्रमुखले संविधानको धारा १८३ बमोजिम आह्वान गर्नु भएको बैठकसम्बन्धी पत्रहरू सभामा प्रस्तुत गरिने उहाँले बताउनुभयो ।
त्यस्तै अधिवेशनको पहिलो बैठकमा आज प्रदेश सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूले धारणा राख्ने कार्यक्रम तय गरिएको छ । भने, आन्तरिक मामिला तथा कानुनमन्त्रीले चलचित्रसम्बन्धी विधेयक पेस गर्ने र चार वटा समितिको प्रतिवेदन पेस गर्ने कार्य सूची रहेको पौडेलले जानकारी दिनुभयो ।
आजको बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसुचि रहेकोे पौडेलले बताउनुभयो ।
यसअघि आइतबार बसेको कार्यव्यवस्था समितिको बैठकमा प्रदेश सभा बैठक सञ्चालनका बारेमा छलफल भएको छ । यस्तै आइतबार नै मुख्यमन्त्री बहादुर सिंह लामाको आव्हानमा बसेको सर्वदलीय बैठकमा विपक्षी दलले बजेटसम्बन्धी आफ्ना माग संवोधन नभएकोप्रति आपत्ति जनाएका छन् । यस्तोमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने गरि आव्हान गरिएको यो अधिवेशन त्यती सहज भने नहुने देखिन्छ ।