मकवानपुर । बागमती प्रदेश सभाको आजको बैठक मंगलबार (भोली) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । दलहरुबीच सहमती बन्न नसकेपछि प्रदेशसभामा पेस गर्नका लागि तयार पारिएका अन्य विषयहरु कार्यसूचीबाट हटाएर बैठक स्थगित गरिएको हो ।
बैठकमा सभामुख भुवनकुमार पाठकले बैठकमा रुलिङ गर्दै कार्य सूचीमा समावेश गरिएका सबै विषयहरू हटाइएको जानकारी दिनुभएको थियो । उहाँले प्रदेश सभाको आजको बैठकमा समावेश गरिएका सबै विषयहरु हटाईएको भन्दै बैठक भोलीसम्मका लागि स्थगित गरिएको जानकारी गराउनुभयो । त्यसअघि आजको बैठकमा सभामुख पाठकले प्रदेश प्रमुखबाट प्राप्त पत्रहरु पढेर सुनाउनु भएको थियो ।, भने, प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
आजको बैठकमा प्रदेश चलचित्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्ने कार्यसूची रहेको थियो भने, संसदीय समितिबाट पारित भई तयार भएका ४ वटा विधेयकको प्रतिवेदन पेस गर्नेे कार्यसूची रहेको थियो । सत्तापक्ष र प्रतिपक्ष दल बिचको सहमतिका विषयहरू टुङ्गीन नसक्दा आजको बैठक स्थगित गरिएको हो ।
प्रदेशसभाको वर्षे (बजेट) अधिवेशन सञ्चालनका लागि मुख्यमन्त्री बहादुरसिंह लामाले पटक पटक छलफल गरे पनि सहमति जुट्न सकेको छैन । सत्तापक्ष र प्रतिपक्ष दलबिच विगतका सहमति कार्यान्वयन र संसद्को हिउँदे अधिवेशनका विषयमा कुरा मिल्न सकेको छैन । चालू आर्थिक वर्षको बजेट कार्यक्रममा प्रतिपक्ष दलसँग सरकारले गरेको सहमति कार्यान्वयन नभएको र संसद् आह्वान गरेर बैठक सञ्चालन नगरी अधिवेशन अन्त्य गरेको भन्दै प्रतिपक्ष दल असन्तुष्ट छन् । सो विषयमा प्रतिपक्ष दलहरूले सरकारको स्पष्ट धारणा माग गरेका छन् । सरकारको जवाफ सन्तोषजनक नभएसम्म बैठक चल्न नदिने प्रतिपक्ष दलको अडान छ ।
बागमती प्रदेशमा एमाले कांग्रेसको गठबन्धन सरकारमा कांग्रेसका बहादुरसिंह लामा मुख्यमन्त्री हुनुहुन्छ, भने, प्रतिपक्ष दलमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, नेमकीपा, हाम्रो नेपाली पार्टी रहेका छन् । प्रतिपक्ष दलको मागको सन्दर्भमा नेमकिपा र हाम्रो नेपाली पार्टी भने सहभागी छैनन् ।