हेटौंडा । चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको विकट कैलाश गाउँपालिकामा तिलगंगा आँखा प्रतिष्ठानले सामुदायिक आँखा केन्द्र सञ्चालन गर्ने भएको छ । केन्द्र सञ्चालनका लागि बिहिबार तिलगंगाा आँखा प्रतिष्ठान र गाउँपालिकाबिच सम्झौता पत्रमा हस्ताक्षर भएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिनुभयो ।

May be an image of 5 people, people sitting, people standing and indoor

तिलगंगा आँखा प्रतिष्ठान हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठ र कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौता अनुसार प्रतिष्ठानले केन्द्रलाई आवश्यक पर्ने मेडिकल उपकरण उपलब्ध गराउने र आँखा सँग सम्बन्धित जनशक्ति व्यवस्थापनका लागि सहयोग गर्ने हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो ।
कैलाश–३ कालिकाटारमा रहने आँखा केन्द्रमा १ जना नेत्र सहायकसहित ३ जना कर्मचारी रहने अध्यक्ष मुक्तानले बताउनुभयो । केन्द्रमा सम्पुर्ण किसिमको आँखा जाँच र चस्मा जाँच हुने उहाँको भनाई छ । आउँदो चैत अन्तिम साता कालिकाटारमा बृहत आँखा शिविर गरेर केन्द्रको उद्घाटन गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।
पालिकामा आँखा सम्बन्धी उपचार गर्ने स्वास्थ्य केन्द्र नभएको अवस्थामा केन्द्रको स्थापना पछि कैलाशका स्थानीयका साथै राक्सिराङ गाउँपालिकाका नागरिकले समेत सेवा प्राप्त गर्ने अध्यक्ष मुक्तानको भनाई छ। तत्कालका लागि कालिकाटारमा भाडाको घरमा आँखा केन्द्र सञ्चालन गरिने र पालिका भवनसँगै निर्माण भैरहेको पालिकास्तरीय अस्पतालको निर्माण कार्य सकिएपछि आँखा केन्द्रलाई पनि सोहि अस्पतालबाट सञ्चालनमा ल्याइने उहँँले बताउनुभयो ।