मकवानपुर – मकवानपुर प्रहरीले डेढ टन बढी लागुऔषध गाँजा,चरेस र हतियारसहित ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार १ हजार ५१५ किलो गाँजा, १३ किलो चरेश, ६ राउण्ड गोलीसहित एक थान भरुवा बन्दुक र एक थान कटुवा पेस्तोलसहित ५ जनालाई पक्राउ गरेको हो ।
बिषेश सूचनाको अधारमा शुक्रबार मकवानपुरको कैलाश गाउँपालिका–६ दुम्सिखर्कका जितबहादुर मोक्तानको घरगोठ खानतलासी गर्दा उक्त परिमाणको लागुऔषध र बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले ७६ वर्षीय मोक्तानसहित सोहि स्थानका २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शेखर घलेलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरिक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।