काठमाडौँ – सरकारले आगामी आर्थिक बर्ष २०७८र७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बरावरको बजेट आज सार्वजनिक गरेको छ । प्रत्येक वर्षको जेठ १५ गते आगामी आर्थिक वर्षका लागि सरकारले बजेट संसद् समक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकोमा यस पटक संसद् विघटन भएको अवस्थामा सरकारले अध्यादेशबाट बजेट ल्याएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा बजेट भाषण गर्दै अर्थ मन्त्री विष्णु पौडेलले आउँदो वर्षका लागि १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो । यो रकममध्ये सङ्घीय सरकारले चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ तीन खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै वित्तिय व्यवस्थातर्फ दुई खर्ब सात अर्ब ९७ करोड रुपैयाँ रहेको छ । प्रदेश र पालिकातर्फ वित्तीय हस्तान्तरणमार्फत तीन खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ विनियोजन भएको छ । सरकारले आउँदो बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । कोभिड–१९ महामारीमा परेको व्यवसायलाई पुनरुत्थान गरी अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न किसिमको कर छुट र भन्सार छुट तथा पुनर्कर्जा र व्यवसाय निरन्तरता कर्जाको कार्यक्रम ल्याएको छ । स्वास्थ्य पूर्वाधार विकासका लागि कोभिड–१९ उपचारमा प्रयोग हुने उपकरणमा भन्सार छुटका साथै अक्सिजन प्लान्ट स्थापनाका लागि अनुदानको व्यवस्था गरेको छ ।

हेर्नुहाेस बजेटको पूर्णपाठ