हेटाैंडा – अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले २२ औं विश्वकपको उपाधि उचालेको हो ।
खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किदा अर्जेन्टिनाले बाजी मार्‍यो । अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।
फ्रान्सका केलियन एम्बाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे। किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुकेका थिए । अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो। अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो । फ्रान्स भने लगातार दोस्रो पटक उपाधि जित्न बन्चित बनेको छ। फ्रान्सले यसअघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।
अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेसी र एन्जल डि मारियाले गोल गरेका थिए। दोस्रो हाफमा किलियन एम्बाप्पेले ९७ सेकेन्डभित्र दुई गोल गरेपछि खेल बराबरीमा आएको थियो । खेलको २३ अ‍ौं मिनेटमा अर्जेन्टिनाले मेसीको पेनाल्टी गोलमा अग्रता लियो। पेनाल्टी क्षेत्रभित्र अ‍ोस्मान डेम्बेलेले एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । ३६ अ‍ौं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । एलेक्सिस म्याक एलिस्टरले अफसाइड ट्र्याप बिट गरेपछि दिएको पासमा डि मारिया चुकेनन् ।
खेल सकिन १० मिनेट बाँकी हुँदा फ्रान्सका लागि केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दिए। निकोलस अ‍ोटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रान्डाल कोलो मुआनीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । एम्बाप्पेले दुई मिनेट नबित्दै फ्रान्सलाई बराबरीमा ल्याए। कोलो मुअ‍ानीसँग पेनाल्टी क्षेत्र बाहिर पास साट्दै एमबाप्पेले सुन्दर गोल गरे । अतिरिक्त समयको १ सय ९ अ‍ौं मिनेटमा मेसीले अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। मेसीको रिवाउण्ड प्रहार जुल्स कुन्डेले क्लियर गरे पनि उनी पोस्टभित्र पसेको निर्णय रेफ्रीले दिएका थिए । अतिरिक्त समयको ३ मिनेट बाँकी रहँदा फ्रान्सले पुन: बराबरी गोल फर्कायो । केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा फ्रान्सलाई बराबरीमा ल्याए ।

No description available.