मकवानपुर । मकवानपुरको हेटौंडामा फोहोर प्लास्टिक संकलन गर्न म्याराथन प्रतियोगिता आयोजना गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल हेटौंडा–९ नम्बर वडा कमिटिको आयोजनामा शनिबार प्लास्टिक संकलन म्याराथन प्रतियोगिता आयोजना गरिएको हो ।

सहरी जीवनशैलीको उपजका रुपमा उत्पादित प्लास्टिक व्यवस्थापनमा समस्या भईरहेका बेला वडामा यसको व्यवस्थापनलाई ध्यानमा राखेर प्रतियोगिता आयोजना गरिएको जनाईएको छ । सर्वव्यापी र सरल उपभोग्य वस्तुका रुपमा प्रयोग हुने प्लास्टिकको व्यवस्थापन गर्नु र स्वच्छ वडा बनाउनु साथै सचेतना फैलाउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल हेटौंडा–९, का अध्यक्ष सुदर्शन भट्टराईले बताउनुभयाे । “प्लास्टिकजन्य पदार्थ उपभोग गर्न जति सहज छ, व्यवस्थापन त्यति नै कठिन रहेको छ । प्लास्टिकले मानव जीवन र जैविक विविधतामा प्रभाव पार्ने हुँदा यसको व्यस्थापन र सचेतना फैलाउन प्रतियोगिता आयोजना गरेका हौं ।” अध्यक्ष भट्टराईले भन्नुभयो ।

हेटौंडा–९ स्थित गुम्बा चोकबाट सुरु भएको म्याराथन ४० मिनेटभित्र मानब सेबा आश्रमसम्मको फोहोर संकलन गर्नुपर्ने गरी नियम बनाईएको थियो । तोकिएको समयभित्र घेरै तौल प्लाष्टिकजन्य फोहोर संकलन गर्नेहरुबाट प्रथम, द्वितिय र तृतीय चयन गरिएको थियो । प्रतियोगितामा ६.९८ केजी प्लाष्टिक संकलन गर्दै दिवस लामा प्रथम हुनु भयो । भने ५.९४ के जी संकलन गर्दै दिपु डंगोल द्वितिय र ५.०६ केजी फोहोर प्लाष्टिक संकलन गर्दै दिवस खतिवडा तृतीय हुनुभयो । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनु भएकाहरुलाई क्रमशः नगद तीन हजार, दुई हजार र एक हजार रुपैया पुरस्कार प्रदान गरिएको थियो ।

No description available.

नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर राना, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल लेखा आयोगका प्रमुख सन्तोष चौलागाईले रिबन काटेर उद्घाटन गर्नुभएको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल लेखा आयोगका प्रमुख सन्तोष चौलागाईले पुरस्कार वितरण गर्नुभएको थियो । म्याराथन प्रतियोगितामा ६० जना युबाहरुको सहभागी थियो ।