आज थप तीन सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या आठ हजार छ सय पाँच पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप दुई सय ८२ जना पुरुष र ४९ जना महिलामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
प्रवक्ता प्रा. डा.गौतमले दिनुभएको जानकारी अनुसार आज डोटीका ६१, पाल्पाका ३३, नवलपरासी पूर्वका ३२, महोत्तरीका २४, तनहुँका २३, बागलुङका २०, बैतडी र गुल्मीका १८/१८ बाँकेका १४, डडेलधुराका १२, सर्लाहीका नौ, मोरङ, धादिङ, प्युठानका आठ/आठ, रौतहट, भक्तपुर र बर्दियाका सात/सात, बारा र दाङका चार/चार, कैलाली र रामेछापका तीन/तीन, सुनसरीका दुई, झापा, नवलपरासी पश्चिम, रुकुम पश्चिम, काठमाडौं, रुपन्देही, स्याङ्जाका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ । हाल सम्म ७४ जिल्लाका सात हजार आठ सय ४९ जना पुरुष र सात सय ५६ जना महिलामा सङ्क्रमण पुष्टि भएको छ ।
यसै गरी आज थप एक सय ७६ जना कोरोना भाइरसको सङ्क्रमण मुक्त भएसँगै हालसम्म सङ्क्रमण मुक्त भई घर फर्किनेको कूल सङ्ख्या एक हजार पाँच सय ७८ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार आज विभिन्न आइसोलेसन सेन्टरबाट एक सय ५८ जना पुरुष र १८ जना महिला सङ्क्रमण मुक्त भएका छन् । नेपालमा हाल सम्म एक सय ४१ जना महिला र एक हजार चार सय ३७ जना पुरुष सङ्क्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।
देशका विभिन्न प्रयोगशालामा हाल सम्म जम्मा एक लाख ६९ हजार एक सय ६५ वटा पिसीआर तथा दुई लाख ५२ हजार तीन सय वटा आरडिटी विधिबाट परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ वटा पिसीआर तथा चार हजार चार सय २६ वटा आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
यसै गरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा एक लाख दुई हजार दुई सय ४५ जना रहेका छन् भने विभिन्न आइसोलेसन स्थलहरूमा सात हजार पाँच जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।