नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस पार्टीलाई नागरिकले भ्रष्टाचारको संरक्षकका रूपमा चिनेका बताउनुभएको छ । शुक्रवार नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र वितरण कार्यक्रममा नेता केसीले कांग्रेसलाई नागरिकले भ्रष्टाचारको संरक्षकको रूपमा चिनेका बताउनुभएको हो ।
उहाँले कांग्रेसलाई नागरिकले विकृति र मनपरीतन्त्रको संवाहकको रूपमा पनि चिनेका बताउनुभयो । नागरिक निराश भएर विकल्प खोजिरहेका भन्दै कांग्रेसको अहिलेको जस्तै नेतृत्व र विचार लिएर अगाडि बढेमा भविष्य चुनौतीपूर्ण हुने उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘लाज नमानी भन्नुपर्दा अहिले हामीलाई यथास्थितिको प्रतिनिधिको रूपमा नागरिकले चिनेका छन् । भ्रष्टाचारको संरक्षकको रूपमा नागरिकले चिनेका छन् । विकृति र मनपरीतन्त्रको संवाहककाे रूपमा हामीलाई चिनेका छन् । त्यसले गर्दा नागरिकमा निराशाको स्थिति र अरू के विकल्प छ भनेर खोजिरहेका छन् । नागरिक विकल्प खोज्छन् । कसैलाई कुरेर बस्दैनन् ।’
नेता केसीले कांग्रेसभित्र वैचारिक पुनर्जागरणको नयाँ क्रान्ति शुरु गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले आफूहरूले नयाँ विचार र दृष्टिकोणसहित सुध्रियौँ भन्ने सन्देश नागरिकलाई दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कांग्रेसभित्र वैचारिक पुनर्जागरणको एउटा नयाँ क्रान्ति शुरु गर्नुपर्ने आवश्यकता छ । पार्टीभित्र आएका चुनौती, पार्टीभित्र लागेका दोषारोपणहरू, यो समग्र रूपबाट एक ठाउँमा उभिएर नयाँ विचार र दृष्टिकोणसहित हामी अब सुध्रियौँ है भनेर नेपाली नागरिकलाई भन्ने र अब हामी गल्ती गर्दैनौँ भनेर त्यो ढङ्गले जान सकेनौँ भने लोकतन्त्रलाई चुनौती छ । पार्टीलाई पनि चुनौती छ ।’
केसीले राष्ट्र र लोकतन्त्रलाई गति दिनका निम्ति पत्रकारिता क्षेत्रको ठूलो योगदान रहेको बताउनुभयो । सत्य र न्यायको निम्ति लेख्न र सत्यको बाटोमा हिँड्न पत्रकारलाई उहाँले आग्रह गर्नुभयो ।