मकवानपुर । मकवानपुरमा ६ महिनाको अवधिमा ४६ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मकवानपुरले शुक्रबार अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
सन् २०२३ को ६ महिना (जनवरी–जुन) सम्म भएका मानव अधिकार उल्लंघनका ४६ घटनामा ४८ जना पीडित भएका छन् । जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ३७ जना महिला, ७ जना पुरुष र १ जना यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्ति पीडित भएको इन्सेक जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार उक्त अवधिमा सबै भन्दा बढी २९ वटा बलात्कारका घटना भएको मध्ये १८ जना बालिका बलात्कारका घटनामा पीडित भएका छन् । १८ जना बालिका पीडित भएकोमा १५ जना बलात्कार, ३ जना यौन दुव्र्यवहार र १ जना बालक हत्याबाट पीडित भएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै यसै अवधिमा महिला अधिकारका घटनामा १९ जना पीडित भएकोमा ९ जना बलात्कार, २ जना बलात्कार प्रयास, १ जनाहत्या र ७ जना बहुबिबाहको घटनामा पीडित भएका छन् । यसै अवधिमा २ वटा हत्याका घटना भएको छ, भने, ७ वटा कुटपिट सहित हत्या प्रयासका घटना भएका छन् । जसमा हत्याबाट १ जना महिला र १ पुरुष तथा कुटपिटसहित हत्या प्रयासबाट ६ जना पुरुष र १ जना यौनिक तथा अल्पसंख्यक समुदायका व्यक्ति पीडित भएको इन्सेकको तथ्यांकमा उल्लेख छ । “नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४” का लागि संकलन गरेको मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनाको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रमका क्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो ।
अघिल्लो वर्षभन्दा यस वर्ष मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनामा तुलनात्मक रुपमा वृद्धि भएको अधिकारीले बताउनुभयो । “सन २०२१ मा जिल्लामा ८६ जना पिडित भएकोमा सन २०२२ मा त्यो संख्या घटेर ६८ पुगेको थियो तर, सन् २०२३ को ६ महिनाको अवधिमै ४६ जना पीडित हुनुले जिल्लाको मानव अधिकार कमजोर रहेको संकेत मिल्छ,’ अधिकारीले भन्नुभयो, “मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना न्यूनीकरणका लागि सरोकारवाला पक्ष गम्भीर हुनुपर्ने अवस्था छ ।”

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले जिल्लामा मानव अधिकार उल्लंघनका घटना मध्ये पनि बालात्कारका घटनामा बालिकाहरु धेरै पीडित देखिनुले जिल्लाको मानव अधिकारको अवस्था चिन्ताजनक भएको बताउनुभयो । उहाँले यस्तो घटना सार्बजनिक हुनु मानिसहरुमा आएको चेतना र उजुरीका आधार बढ्दै गएको मान्न सकिएता पनि यसले जिल्लाको मानव अधिकारको चित्रण दर्साउने भएकोले यसतर्फ सबै प्रशासनिक निकाय, जनप्रतिनिधी र संघसंस्थाले ध्यानदिन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी बासुदेव खतिवडाले इन्सेकले मानवअधिकारका समग्र पक्षलाई समेटेर दस्तावेज गर्न सुझाव दिनुभयो । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयका निमित्त कार्यालय प्रमुख रेवा रेग्मीले हिँसामा बालिकाहरु बढि पीडित देखिएकोमा चिन्ताव्यक्त गर्नुभयो । बलात्कार तथा यौन दुरुपयोगका घटनाहरु बढ्नुले बालिकाहरु असुरक्षित देखिएको बताउँदै यसले समाजको पनि अवस्थाबारे देखाउने भएकाले सुरक्षित समाज निर्माणको लागि सबैपक्षको ध्यान जान आवश्यक रहेको औंल्याउनुभयो ।
त्यस्तै गैसस महासंघ मकवानपुरका अध्यक्ष रमिला सापकोटाले जिल्लामा मानव अधिकार उल्लङघनका घटना बढ्नु अत्यन्तै चिन्ताजनक रहेको बताउँदै सञ्चारकर्मीहरुलाई मिडिया मार्फत न्यूनिकरणका लागि भुमिका बढाउन आग्रह गर्नुभयो । मकवानपुर जिल्ला बार एशोसियसनका अध्यक्ष अप्सरा बस्नेतले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुमा प्रहरीले दुइतर्र्फी पाटोबाट अनुसन्धानसहित प्रतिवेदन बनाउन आवश्यक देखिएको बताउनुभयो । कतिपय घटनामा कसैको उक्साहटमा उजुरी दिने र पछि अदालतमा होइन भन्ने जस्ता पीडितको बयान आउने देखिएकाको भन्दै यसले वास्तविक पीडित प्रति पनि शंका गर्ने स्थित पैदा भएको बताउनुभयो । इन्सेक बागमती प्रदेश हेटौंडाका अधिकृत सोम नेपालीले इन्सेकले मानव अधिकारको पक्षमा गर्दै आएको कामबारे जानकारी दिँदै उठेका जिज्ञासाहरुमा प्रष्ट पार्नुभएको थियो ।