मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा सञ्चालित हेटौंडा अस्तालमा स्वास्थ्य बिमाका बिरामीहरुले दैनिक रुपमा ओपीडि टिकट दर्ता गर्न नपर्ने भएको छ । अस्पतालले सोमबार एक सूचना जारी गर्दै स्वास्थ्य बिमा अन्तरगतका बिरामीका लागि एक पटक ओपीडी टिकट लिएपछि एक हप्तासम्म दर्ता नगरी फ्लोअप गर्न सक्ने व्यवस्था गरेको जनाएको छ ।
नेपाल सरकारले स्वास्थ्य बिमा अन्तर्गतका विरामीहरुले १ पटक ओपीडी टिकेट दर्ता गरिसकेपछी ७ दिन सम्म दर्ता नगरी फलोअप गर्न सक्ने प्रावधान गरे बमोजिम हेटौंडा अस्पतालमा पनि सेवा सुरु गरेको जनाइएको छ । दिनदिनै टिकट दर्ता गर्नुपर्ने व्यवस्थाका कारण हैरानी खेपेका बिमा अन्तर्गतका विरामीको गुनासोलाई सम्बोधन गर्दै ओपीडीको टिकट लिएपछि एक सातासम्म दर्ता नगरी फ्लोअप गर्न सक्ने व्यवस्था गरिएको हाे । यसअघि स्वास्थ्य बिमा अन्तरगतका बिरामीले ओपीडी टिकट दैनिक दर्ता गर्नुपर्ने व्यवस्था रहेको थियो ।
अस्पतालद्धारा जारी सूचनामा यो व्यवस्था माघ २९ गतेदेखि नै लागू हुने तथा दर्ता भएको मितिले ७ दिनसम्म पुनः दर्ताको लागि लाइन नबसी सेवाहरुको विलिङका साथै फार्मेसीबाट औषधि समेत लिने व्यवस्था मिलाइएको जनाईएको छ । उक्त व्यवस्था बमोजिम ओपीडी जाँच गराएको ७ दिन भित्र सम्बन्धित विभागको डाक्टरसँग परामर्शका लागि सिधै भेट्न सकिने र परामर्श गरिसकेपछी सम्बन्धित डाक्टरले नियमितरूपमा छाप (मिति, नाम, एनएमसी नम्बर) अनिवार्य लगाएपछि मात्र आवश्यक बिलिङ्ग तथा औषधि लिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।












