मकवानपुर । प्रविधिको बढ्दो दूरुपयोगले अनलाईनमा बालबालिकाहरु असुरक्षित रहेको बुधबार हेटौंडामा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । सिविन नेपालद्धारा आयोजित “अनलाईनमा बालबालिकाको संरक्षण” विषयक छलफल तथा अन्तरकृया कार्यक्रमका सहभागिहरुले ईनरनेटको बढ्दो प्रयोगसंगै बालबालिकाहरु जोखिममा पर्ने गरेको बताएका हुन् ।
कार्यक्रममा सहभागिहरुले सूचना प्रविधिको प्रयोगबाट बालबालिकाहरुलाई शैक्षिक क्रियाकलापसँग जोड्नुपर्ने आवश्यकता बढ्दै गइरहेकोले त्यसबाट बचाउन सचेतनामूलक कार्यक्रमलाई तीव्र र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन् । अनलाइनमा हुने जोखिमबाट बालबालिकाहरुलाइ जोगाउन बालबालिकाले अनलाइनमा गर्ने गतिविधिबारे जानकारी राख्नुपर्ने, सामाजिक सञ्जालको प्रयोग गर्दा हुनसक्ने सम्भावित अनुचित गतिविधिहरूको बारेमा जानकारी राख्नुपर्ने र नियमित निगरानी गर्नुपर्ने साथै बालबालिका एवम् अभिभावकहरुका लागि सुरक्षित ईन्टरनेट चलाउने विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।
यस्तै बालबालिकाहरूलाई इन्टरनेटको प्रयोग गर्दा त्यसबाट सिर्जना हुनसक्ने विभिन्न खतराबाट सुरक्षित राख्न जरुरी रहेको र उनीहरूलाई सुरक्षित तवरमा इन्टरनेट चलाउन सिकाउनुपर्ने बताएका छन् । अनलाइनबाट बालबालिकामा हुने यौन दुव्र्यवहारको घटना बढ्दै गएको हुँदा यसमा सबै पक्ष समयमै सचेत हुनुपर्ने उनिहरुले सुझाव दिएका छन् । अनलाईनमा बालबालिकाको संरक्षणकालागि सरकार, शिक्षा क्षेत्र, नियामक क्षेत्रसंगै यो क्षेत्रमा काम गर्ने अन्य संघसंस्थाहरू सबैको सहभागिता आवश्यक रहेको उनिहरुको भनाई थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुदै सिविन बालहेल्प लाईनका कार्यक्रम फोकल पर्सन माधव लोहनीले अनलाइन बाल यौन शोषणबाट प्रभावित बालबालिकाहरूको लागि पीडित हेरचाह र पुनर्वास सेवाहरूको गुणस्तरलाई सुदृढ पार्नुपर्ने साथै यसका चुनौती र जटिलतासंगै बालबालिकाको सुरक्षा र कल्याणसम्बन्धी सचेतना जगाउँदै सामूहिक प्रतिबद्धता बढाउनुपर्ने बताउनुभयो । उहाँले अनलाईनमा वालयौन दुव्यवहारका घटना बढ्दै गएको भन्दै यस विषयमा समयमै सचेत हुनुपर्ने औल्याउनुुभयो । विश्वव्यापी मुद्धाका रुपमा प्रकट भएको यस विषयको न्युनिकरणका लागि सबै पक्षको सकारात्मक प्रयास आवश्यक रहेको उहाँले बताउनुभयो ।
लोहनीका अनुसार नेपाल प्रहरीको साईवर व्युरोमा दर्ता भएका घटनाका आधारमा पनि यस विषयमा समयमै सचेत हुन आवश्यक छ । व्युरोमा २०७५÷७६ मा साईवर अपराध सम्बन्धी ३५७, २०७६÷७७ मा २ हजार ३०१, २०७७÷७८ मा ३ हजार ९०६, २०७८÷७९ मा ४ हजार ६८६, २०७९÷८० मा ९ हजार १३, २०८०÷८१ मा १९ हजार ७३० र २०८१÷८२ को हालसम्म ९ हजार ९३२ घटना दर्ता भएको बताउनुभयो । साईबर अपराधका घटना दर हरेक वर्ष बढ्दै गएको साथै यी घटनाहरुमा पुरुष भन्दा महिला बढी पिडीत रहेको बताउनुभयो ।
कार्यक्रममा सिवीन बाल हेल्पलाईन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीले बालविवाह, बालश्रम भन्दा पनि अनलाईन बाल शोषणको विषय बढी सम्वेदनशील र जटिल बन्दै गएकोले यस विषयमा सबै सचेत हुन जरुरी रहेको बताउनुभयो । कार्यक्रमा मकवानपुरका विभिन्न स्थानीय तहका शिक्षा शाखाका प्रमुख एवम् प्रतिनिधि, विद्यालयका शिक्षक एवम् विद्यालय नर्सहरु, सामुदायिक प्रहरी, पत्रकार, ईनटरनेट प्रदायक संस्थाका प्रमुख एवम् प्रतिनिधिलगायत विभिन्न सरोकारवालासंघसंस्थाको सहभागिता रहेको थियो ।