मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्थानीय तह जनप्रतिनिधि विहीन हुने अवस्था नआउने बताएका छन् । स्थानीय तहको निर्वाचन निर्धारित समयभन्दा पर धकेल्ने तयारी भइरहँदा मुख्यमन्त्री पाण्डेले ‘भ्याकुम’को अवस्था सिर्जना नहुने बताए ।
एकीकृत नेकपा (समाजवादी) का केन्द्रीय उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री पाण्डेले स्थानीय तहको निर्वाचन सन्दर्भमा दलहरूबीच भइरहेको छलफलको विषयमा आफू जानकार नभए पनि स्थानीय तह जनप्रतिनिधि विहीन हुने अवस्था भने सिर्जना नहुने दाबी गरेका हुन् । बुधबार हुने राष्ट्रिय सभा निर्वाचनको वाग्मती प्रदेशतर्फ मतदानस्थल हेटौंडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँग मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् । प्रदेश सरकारको स्थानीय तहमार्फत् हुने कुनै पनि काम अवरोध सिर्जना नहुने दावी गरेका हुन् । ‘स्थानीय तह जनप्रतिनिधि विहीन हुँदैन । प्रदेश सरकारको स्थानीय तहमार्फत् भइरहेको सबै योजना कार्यान्वन हुन्छ,’ उनले भने । ईकान्तिपुरबाट