हेटौंडा । बागमती प्रदेशमा गाडी चलाउँदा चालकहरुले स्मार्ट लाइसेन्स देखाउन नपर्ने भएको छ । उनीहरुले मोबाइलमा नागरिक एपमा डाउनलोड गरिएको क्यूआर कोडसहितको सवारीचालक अनुमति पत्र देखाए हुनेछ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले शुक्रबारदेखि नागरिक एपमा लाइसेन्स र क्यूआर कोड देखाए पनि हुने व्यवस्था गरेको हो ।
हाल सरकारले लाइसेन्स परीक्षा पास गरिसकेकाहरुलाई पनि स्मार्ट लाइसेन्स प्रिन्ट गरेर दिन सकेको छैन । तर, परीक्षा पास गरेपछि भने नागरिक एपमा लाइसेन्स र क्यूआर कोड उपलब्ध हुन्छ । नागरिक एपमा रहेको लाइसेन्स र क्यूआर कोडलाई ट्राफिक प्रहरीले स्मार्ट फोनबाट स्क्यान गरेर हेर्न सक्नेछन् ।
शुक्रबार बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई १०४ थान स्मार्ट फोन हस्तान्तरण गर्नुभएको छ । त्यही स्मार्ट फोनको सहायताले चेकजाँचमा बसेका ट्राफिक प्रहरीले नागरिक एपमा रहेको चालकको लाइसेन्स स्क्यान गर्नेछन् ।चालकले ट्राफिक नियम उलंघन गरेमा सोही एपको सहायताबाट ट्राफिक प्रहरीले जरिवाना गर्न सक्नेछ र चालकले तोकिएको जरिवाना अनलाइन प्रणालीबाटै दिन सक्नेछन् ।
कार्यक्रममा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्मार्ट लाइसेन्स छाप्न ढिलो हुँदा आउने गुनासो सम्बोधन गर्न यो व्यवस्था गरेको बताउनुभयो । बागमतीका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले स्मार्ट लाइसेन्स युगको अन्त्य भएको बताउनुभयो ।