मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार २१औं निजामती सेवा दिवशका अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ हेटौंडा–४, स्थित भुटनदेवी माविको प्रङ्गणबाट सुरु भएको प्रभातफेरी र्याली सिमाचोक, बुद्धचोक, चोकीटोल, मानसचोकहुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेर औपचारीक कार्यक्रममा परिणत भएको थियो ।
प्रभातफेरीमा बागमती प्रदेशका प्रमुख सचिव गोविन्द बहादुर कार्कीलगायत विभिन्न मन्त्रालयका सचिवहरु, विभिन्न कार्यालयका कार्यलय प्रमुख एव् कर्मचारी तथा सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिति थियो । यसैगरी, प्रभातफेरीमा आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनलगायत कर्मचारी सङ्गठनको पनि सहभागिता थियो ।
प्रभातफेरी पश्चात आयोजित औपचारीक कार्यक्रम प्रमुख सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख सचिव कार्कीले संघीयताको संस्थागत विकासमा कर्मचारीको भूमिका रहने बताउनुभयो । कार्यक्रममा उहाँले सङ्घीयता कार्यान्वयनका सन्दर्भमा अन्यौलता देखिएको र अहिले सङ्क्रमणकाल छ भनिन्छ तर यो कहिलेसम्म भन्दै अझै कर्मचारी प्रशासनमा द्विविधा रहेको बताउनुभयो । उहाँले निजामती सेवा ऐन आएपछि अहिले देखिको अन्यौलता हट्ने विश्वास व्यक्त गर्दै निजामती सेवामा निरन्तर सुधार आवश्यक भएको बताउनुभयो ।
उहाँले निजामती कर्मचारीको व्यवहार र आचरण महत्त्वपूर्ण भएको र यसमा परिवर्तन आवश्यक भएको औँल्याउँदै जनतले चाहे जस्तो र अन्तर्राष्ट्रिय स्तरको कर्मचारी संयन्त्र भएन भने जनगुनासोलाई चिर्नु हाम्रो दायित्व भएको बताउनुभयो । मकवानपुरमा प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले शासन बदलियो तर शासकको प्रवृत्ति र निजामती प्रशासन नबदलिएको भन्ने आरोप रहेको बताउँदै निजामती कर्मचारीले नागरिक मैत्री र गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम र आधिकारिक ट्रेड युनियन मकवानपुरका अध्यक्ष विष्णुप्रसाद अर्यालले निजामती सेवा नागरिकमैत्री हुनुपर्ने बताउनुभयो । कार्यक्रममा निजामती सेवा दिवस २०८१ का अवसरमा आयोजना गरिएको कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः सानुबाबु खनाल, रुद्रप्रसाद शर्मा र गोपिनी गौतमलाई पुरस्कृत गरिएको थियो । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि निजामती सेवा दिवस मनाउने गरिएको छ ।